नेप्सेमा उच्च अंकको गिरावट, किन घट्यो नेप्से ?

  • प्रकाशित मिति : July 26, 2022
  • कान्तिपुर सञ्चार

साउन,१० काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो ।

दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार भने २ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४४.८० अंक (२.१० प्रतिशत) ले गिरावट भएर २०८८.१६ अंकमा बन्द भएको छ । सोमाबार राष्ट्र बैंकले बोलकबोल गरेको ट्रेजरी बिलमा बैकहरुले १४ प्रतिशतको ब्याजदर प्रस्ताव गर्दा त्यसको असर पनि सेयर बजारमा देखिएको बजारका जानकारहरु बताउँछन् ।

ट्रेजरी बिलले अल्पकालीन ब्याजदर माथि जाने संकेत गरेको र ब्याजदर वृद्धि हुँदा सेयर बजार प्रभावित हुने उनीहरुको तर्क छ । तर, अर्का एक अनुभवी लगानीकर्ता भने लगातार दुई दिन उच्च अंकले बढेको बजारमा मंगलबार नाफा बुक गर्न सेलिङ प्रसेर देखिएको बताउँछन् । दुई दिनमा उच्च अंकले बढेको बजारमा मंगलबार सेलिङ प्रेसर आएर करेक्सन हुनु सकारात्मक भएको उनको तर्क छ ।

मंगलबार नेप्से सँगै सबै उपसूचकमा गिरावट भएको छ । अन्य उपसूचक ३.५६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक २.९६ प्रतिशत, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचक समान .७७ प्रतिशतले घटेको छन् । सोमबारको तुलनमा मंगलबार कारोबार रकम केही घटेपनि करिब ४ अर्ब पुगेको छ । मंगलबार बजारमा ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ५० लाखको कारोबार भएको छ । कारोबार भएकामध्ये शिवम् सिमेन्टको सवार्धिक १९ करोड ३९ लाखको कारोबार भएको छ । त्यस्तै अरुण कावेली पावरको १५ करोड ५७ लाखको कारोबार भएको छ ।

मंगलबार कारोबार अवधिभर नेप्सेमा १८१ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । कारोबार भएकामध्ये मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य ९.३२ प्रतिशतले वृद्धि हुँदा सूर्योदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ६.१९ प्रतिशतले बढेको छ ।

यता गणपति लघुवित्तको सेयरमूल्यमा ६.८२ प्रतिशतले गिरावट हुँदा रिभर्स फल्स हाइड्रोपावरको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट भएको छ ।