पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

  • प्रकाशित मिति : July 2, 2022
  • कान्तिपुर सञ्चार

असार १८, काठमाण्डौ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन्।

बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखिनै भएको हो तर, बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ।

बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।