पुल्चोकको डेरामा मृत फेला परे म:म पसल सञ्चालक

  • प्रकाशित मिति : August 3, 2022
  • कान्तिपुर सञ्चार

साउन १८, काठमाडौँ । ललितपुरको पुल्चोकमा एक पुरूष मृत फेला परेका छन्।

बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

प्रहरीले उनको पहिचान खुलिनसकेको बताएको छ।  पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे।

उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको पुल्चोकमा म:म पसल छ।

बिहान पसल खोल्न नआएपछि छिमेकीहरू उनलाई घरमा बोलाउन गएका थिए। तर उनले ढोका खोलेनन्।

ढोका नखोलेपछि स्थानीय आफैंले भर्‍याङ राखेर उनको कोठामा हेरेका थिए। हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।

 

उनी मृत फेला परेको भन्ने खबर पाएपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले प्रहरीको टोली घटनास्थलमा छ।

मुचुल्का उठाएर शवको पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ।

छिमेकी इच्छाहर्ष महर्जनका अनुसार उनी दार्जिलिङका हुन्। उनी ३० वर्षयता काठमाडौंमा छन्। सोही घरमा १० वर्षदेखि बस्दै आएका थिए।

उनको २२ दिन अघि मात्रै श्रीमती पनि बितेको महर्जनले बताए।