प्रतिनिधि सभाको अनुभव प्रदेश सभामा देखाउने अमृताको चाहना

  • प्रकाशित मिति : November 16, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अमृता थापा मगर स्याङ्जा १ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेकी छिन्।

यसअघि प्रतिनिधि सभा सदस्य भइसकेकी थापा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट यसपटक प्रदेश सभा सदस्यको लागि चुनावी मैदानमा होमिएकी छिन्।

माओवादी केन्द्रको भातृ संस्था अनेम संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष थापा प्रदेश सभा सदस्यमा निर्वाचन लड्नुलाई चासोका रूपमा हेरिएको छ। गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीको रूपमा उनलाई मतदाता तथा त्यहाँका नेता कार्यकर्ताले हेरेका छन्।

को हुन् अमृता थापा मगर ?

वि.स. २०२९ जेठ ५ गते स्याङ्जाको बिरुवा अर्चलेमा जन्मिएकी अमृता थापा मगर एक क्रान्तिकारी साहसिक योद्धा हुन । स्याङ्जाको दुर्गम गाउँको सामान्य परिवारमा जन्मेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउन सफल थापा जनयुद्धदेखि गणतन्त्र प्राप्तिको दोस्रो ऐतिहासिक जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

रेडियो नेपालमा समाचार वाचिकाको रुपमा कार्यरत थापा  रेडियोको जागिरबाट राजिनामा दिएर युद्धमा होमिएकी साहासिक योद्धा हुन्। खाँदै आएको सरकारी जागिर, बृद्धअवस्थाका बाआमा र कलिला छोराछोरीको स्याहारसुसार छोडेर भूमिगत भएर राज्यसत्तामा महिलाको भूमिका स्थापित गर्न खटिरहने योद्धा हो अमृता थापा ।

थापाले २०४८ सालमा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएर निरन्तर आन्दोलन र अभियानको नेतृत्व गर्दै आएकी छन्। २०४६ सालको जनआन्दोलनमा पोखराका मैदानमा मसाल बोकेर हिडेकी थापा २०४७ सालमा  तत्कालीन अनेरास्ववियूको पृथ्वीनारायण क्याम्पस ईकाई सदस्य भइन्। त्यस्तै विद्यार्थी आन्दोलनमा समाहित हुने क्रममा २०४८ सालमा अनेरास्ववियूको  स्याङ्जा जिल्ला सचिव र २०४९ सालमा  गण्डकी समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर काम गरिन्।

२०५० सालमा गण्डकी धौलागिरी साँकृतिक संगम सदस्यमा चयन भएकी थापा नेकपा माओवादीको २०५१ सालमा चितवनमा भएको राष्ट्रिय सम्मेलनमा गण्डकीबाट प्रतिनिधिको रूपमा सहभागी भएकी  थिइन्।पार्टीका नेता तथा बाग्मती प्रदेश ईन्चार्ज हितमान शाक्यसँग  २०५१ चैत २६ गते विवाह बन्धनमा बाँधिएकी थापाका २ छोरी रहेका छन्।

पार्टीभित्र लामो त्याग र सङ्घर्षबाट नेतृत्वमा स्थापित हुन सफल नेतृ थापाले पार्टीको आठौ महाधिवेशन बाट पुनः केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी थिइन्। क्षमता र आवश्यकतालाई मध्यनजर गरी पार्टीभित्र नयाँ पुस्ता भित्रिनुपर्ने धारणा राख्ने थापाले युद्धकालीन समयदेखि आजसम्म पनि माओवादी पार्टीमा महिलाको भूमिका नेतृत्व स्थापित हुनुपर्नेमा आवाज उठाउँदै आइन् ।

देशभर माओवादीको जनयुद्धको सूक्ष्म तयारी चलिरहँदा उनी २०५१ सालमा अनेमसंघको काठमाडौं उपत्यका समन्वय समितिको संयोजक तथा पार्टीको एरिया सदस्य भएकि थिइन्। २०५२ देखि भूमिगत हुँदै पूर्वी नेपालको क्षेत्रमा बन्दुक र बारूदसँग लड्दै हिडेकी नेतृ थापा २०५३ सालमा नेकपा माओवादी सुनसरी मोरङ संयुक्त जिल्ला सदस्य हुँदै २०५६ सालमा नेकपा माओवादी कास्की जिल्ला सदस्य तथा पोखरा नगर ईन्चार्ज भएकी थिइन्।

जनयुद्धकालमा पार्टीको पूर्वी कमाण्डमा नेतृत्व गरेकी थापा राजनीतिमा महिला सहभागिताको विषयमा सचेततापूर्वक लड्दै आएकी छन् । २०५७ सालमा पार्टीको कपिलवस्तु जिल्ला सदस्य भएकी थापा २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य बनिन्। २०५८ सालमा पार्टीको प्रवास महिला फ्याक्सन ईन्चार्ज तथा दिल्ली राज्यसमितिको सेक्रेटरी बनेकी थापा २०६० सालमा उदयपुर जिल्ला ईन्चार्ज एवं माओवादीको पूर्णकालीन सदस्य बनिन्।

२०६१सालमा तत्कालीन माओवादीले  पूर्वी नेपालमा पहिलो पटक सेनामाथिको सफल कार्वाही गर्ने क्रममा भोजपुर टावर र जेल आक्रमणमा परि सामान्य घाइते भएकी थापा घाइते ज्यानसँग बन्दुकको साथी बनेर युद्धमै सहभागी बनिरहिन्। २०६१ सालमा अनेमसंघको महासचिव हुँदै पार्टीको पूर्वका सशक्त ४ जिल्ला उपब्युरो सिन्धुली,धनुषा,सर्लाहीर महोत्तरीको पार्टी ईन्चार्ज भएकी अमृता थापा मगर फस्ट डिभिजन जनमुक्ति सेनाको राजनीतिक कमिसार भएर काम गरिन् ।

त्यस्तै,२०७०सालमा नेकपा माओवादीको पोलिटब्युरो सदस्यमा चयन भएकी थापा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भएकी थिइन्।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएकी नेतृ थापा पहिलो संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाडफाँड समितिको सभापति भएकी थिइन्।२०७२ सालमा माओवादी सचिवालय सदस्य भएकी नेतृ थापा २०७५ सालमा नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा केन्द्रीय सदस्य भएकी थिइन्।

स्याङ्जामा लोकतान्त्रिकवाम गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएकी थापालाई गठबन्धनका सहयात्री दल कांग्रेस र समाजवादीको दरिलो साथ छ । केन्द्रको सांसद र पार्टीको केन्द्रीय भूमिकामा लामो समय काम गरेकी थापाले केन्द्र, प्रदेश र पालिकासँग समन्वय गरी आफ्नो क्षेत्रको विकास निर्माणसँगै राजगारी सृजनामा काम गर्ने बताएकी छन्। गठबन्धन दलको दरिलो साथ पाएकी थापा स्याङ्जा बनाउने अभियानमा  लाग्ने उद्देश्यले उम्मेदवार बनेको बताइन् ।

संविधान,संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता, समानुपातिक प्रणालीजस्ता थुप्रै उपलब्धि हासिल गर्न आफ्नो जीवन समर्पित गरेकी थापा अब जनताबाट प्रत्यक्ष निर्वाचित भएर विकास र समृद्धिको कार्यान्वयन गर्न सकिने ठाउँमा पुग्न जनताको घरदैलोमा आइपुगेकी छन्।

आफ्नो करिब आधा जीवन देशका निम्ति दिएकी थापाले अबको समय जनताको सुख, समृद्धि र दिगो विकाससहितको आर्थिक, सामाजिक परिवर्तनमा बिताउनु पर्ने अवसर र चुनौती दुवै कुरा एकैपटक आएको छ। स्याङ्जामै जन्मिएर देशको केन्द्रीय स्तरसम्म पुगेर महिला हक र अधिकारका बिषयमा बारम्बार संसदीय समितिमा बहस र छलफल चलाउने थापालाई गठबन्धनको दरिलो साथ रहेकोले जीत हुनेमा ढुक्क छन्।