बिहेको सिजनमा सुन अभाव, व्यवसायीले लिन छाडे गहना ‘अर्डर’

  • प्रकाशित मिति : April 21, 2022
  • कान्तिपुर सञ्चार

बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी एलसी नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो ।

 

केन्द्रीय बैंकले गत चैत २१ गते सुनको आयातका लागि एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । बैंकले बढ्दो आयातसँगै विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि डलर बाहिरिनबाट रोक्न भन्दै यस्तो व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिनुअघि दैनिक १० किलो सुन आयात हुन्थ्यो । त्यो सुन वाणिज्य बैंकहरूले आलोपालो आयात गरेर व्यवसायीहरूलाई वितरण गर्दै आइरहेका थिए । केन्द्रीय बैंकले ग्यारेन्टी नराख्न भनेपछि हाल सुन आयात शून्य छ ।

त्यसअघि, फागुन ११ गतेदेखि राष्ट्र बैंकले नै सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलो कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य मुख्य सिजनमा दैनिक ३५४० किलोसम्म सुन बिक्री हुने गरेको बताउँछन् ।

मुख्यगरी लगनको समय, तीज र दसैँरतिहारको समय नेपालमा सुनको व्यापार बढ्ने गर्दछ । यस्तो सिजनमा दैनिक ४० किलोसम्म सुन बिक्री हुने गरेको महासंघ अध्यक्ष शाक्यको भनाइ छ । त्यस आधारमा वैशाख महिना पनि बिहेको सिजन भएकाले सुनको उच्च माग हुने गर्दछ ।

 

 

‘वैशाख महिना सुनको मुख्य सिजनमध्येको एक हो । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बिक्री कम छ,’ उनले भने, ‘त्यसैले, अहिले हामीले नयाँ अर्डर लिएका छैनौं । यसअघि नै आइसकेका अर्डर दिइरहेका छौं ।’ व्यवसायीहरूसँग सुनको मौज्दात नरहेकाले नयाँ अर्डर लिन छाडेको उनले जानकारी दिए ।

यद्यपि, अघिल्ला वर्षको तुलनामा २०७७ को बिहेको सिजनमा सुनको माग उल्लेख्य रहेन । अघिल्ला वर्षका बिहेको सिजनमा दैनिक ४० किलोसम्म सुन बिक्री हुन्थ्यो तर, २०७७ सालको माघ र फागुनमा दैनिक १० किलोका दरले सुन बिकेको थियो । त्यसैले गत वर्ष सुन बजारमा आपूर्तिको चाप नपरेको शाक्यले बताए ।

यद्यपि वैशाख महिनामा बिहेको लगन हुनाले यो महिना सुनको माग उच्च हुने गरेको तर आपूर्ति नहुँदा ग्राहकलाई सुन दिन नसकेको उनको भनाइ छ । उनका अनुसार नयाँ अर्डरअनुसार सुन बनाउने काम रोकिए पनि ‘रेडिमेड सुन’ बिक्रीवितरण भइरहेको छ ।