भाग २ स्थानिय तह गाउपालिका प्रमुखलाई निवेदन, सामुदायिक स्कुल कसरी सुधार्ने ।

  • प्रकाशित मिति : July 20, 2022
  • कान्तिपुर सञ्चार

साउन ४, दोलखा ।

कृष्ण बहादुर बुढाथोकी,
मेलुङ गा.पा. पवटी, दोलखा

प्रधानाध्यापकको नेतृत्व र व्यवस्थापकीय क्षमता सुदृढ बनाउने

नियत सफा भएका क्षमतावान प्रधानाध्यापकहरूले आफ्नै पहलमा विद्यालय सुधार गरेका यथेष्ट उदाहरण छन्। विद्यालयको समग्र उन्नतिका लागि विद्यालयको नेतृत्व र व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ। सकारात्मक सोच भएका उप्रेरित शिक्षकहरू पनि विद्यालयको नेतृत्व राम्रो भएन भने काम गर्न सक्दैनन्।

यसका लागि प्रधानाध्यापकको नेतृत्व र व्यवस्थापकीय क्षमता सुदृढ बनाउनै पर्छ। पालिकाले आफ्नो पहलमा निम्न बमोजिम केही प्रयासहरू गर्न सक्छ-

प्रधानाध्यापकलाई निरन्तर नेतृत्व र व्यवस्थापनको प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ। उनीहरूको काममा निरन्तर सहयोग र ‘मेन्टरिङ’ को व्यवस्था गर्ने संरचना बनाउन सकिन्छ .

विद्यालयको भौतिक पूर्वाधार र ‘लजिस्टिक्स’ हेर्नका लागि छुट्टै व्यक्तिको व्यवस्था गर्न सकिन्छ। विद्यालयमा केही समस्या पर्ने बित्तिकै समाधान गर्ने संरचना बनाउन सकिन्छ।

आफ्नै पालिका भित्रका प्रधानाध्यापकहरू बीच सिकाइ आदान प्रदान र समस्या समाधानको लागि नियमित सत्र आयोजना गर्न सकिन्छ। यस्तो सत्र सबै तहका प्रधानाध्यापकबीच सँगसँगै वा प्राथमिक, आधारभूत र माध्यमिक तहको फरक फरक समयमा गर्न सकिन्छ।

प्रधानाध्यापकलाई शिक्षण सिकाइको अवलोकन, पृष्ठपोषण तथा शिक्षकहरूलाई सहयोग गर्ने भूमिकाको रूपमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ।

राम्रो गरिरहेका प्रधानाध्यापकहरूको अनुभवमा एउटा कुरा समान देखिन्छ। उनीहरू सिक्नका लागि असल अभ्यास गरिरहेका धेरै ठाउँमा पुग्छन्। धेरै मानिसहरूसँग भेटेर सल्लाह माग्छन्। आफैं नगर्ने प्रधानाध्यापकलाई समेत समेट्ने गरी उत्कृष्ट अभ्यास गरिरहेको नेपाल भित्र र बाहिरका विद्यालयहरूमा भ्रमण गराउन सकिन्छ। अथवा, प्रविधिको माध्यमबाट उत्कृष्ट विद्यालयहरूसँग जोडेर ‘भर्चुअल टुर’ गराउन सकिन्छ।

सुरूमै प्रधानाध्यापकलाई सुदृढ पार्न नसकिने अवस्थामा विद्यालयको व्यवस्थापनमा काम गरिरहेका संस्थाहरू वा समुदायका व्यवस्थापन र नेतृत्व क्षमता भएका युवाको अस्थायी सहयोग लिन सकिन्छ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित भानोदय आधारभूत विद्यालय करिब पाँच वर्षअगाडि अर्को स्कुलमा गाभिने अवस्थामा थियो। त्यति बेला एक स्थानीय युवाले व्यवस्थापन सम्हाले र केही समय पछाडि ‘कोल्याबोरेटिभ स्कुल्स नेटवर्क’ नामक संस्थासँग व्यवस्थापनमा सहकार्य गरे पछि हाल विद्यालयको कायापलट भएको छ। डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकास्थित याङ्जेर गुम्बा आधारभूत विद्यालयले व्यवस्थापनमा ‘हिमालयन डेभलपमेन्ट इनिसिएटिभ’ सँग सहकार्य गरेपछि विद्यालयको शैक्षिक स्थिति सुधार भएको छ।

शिक्षकको ज्ञान, सीप र भूमिका सुदृढ बनाउने

शिक्षण सिकाइको क्षेत्रमा प्रयोग हुने एक प्रसिद्ध मोडल छ- एकेडेमिक  मोडल।

यो मोडलका अनुसार शिक्षकको सोच, विश्वास र मनस्थितिले उसको कार्य र व्यवहार निर्धारण गर्छ। शिक्षकको कार्य र व्यवहारबाट विद्यार्थीहरूको सोच र मनस्थिति निर्धारण हुन्छ। विद्यार्थीको सोच र मनस्थितिले उनीहरूको व्यवहार र कार्य निर्धारण हुन्छ। अन्ततः विद्यार्थीहरूको समग्र शैक्षिक उपलब्धि निर्धारण हुन्छ।

यसको अर्थ यो हो, शिक्षकले आफू, विद्यार्थी र शिक्षण सिकाइबारे सोच्ने कुराले उसको समग्र व्यवहार र काम तय गर्छ।

शिक्षकको भर्ना संघीय सरकारको मातहत रहेकाले यसमा पालिकाको भूमिका रहँदैन। तर शिक्षकलाई नियमित रूपमा अपग्रेड गर्ने र प्रभावकारी बनाउने काम पालिकाले गर्न सक्छ। यस्ता खालका मोडलहरु हुदा हुदै यस प्रति कसैको ध्यान नपूग्दा शिक्षामा नाजुक अवस्था हुदै ग्एको हो ।