मतपरिणाम सार्वजनिक गरेपछि भेटियो सिलबन्दी मतपेटिका

  • प्रकाशित मिति : May 19, 2022
  • कान्तिपुर सञ्चार

बर्दिबास, जेठ ५ । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ ।

बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् । बर्दिबास ८ अन्तर्गत बेलगाछी ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को बाकस अर्कै वडाकोमा फेला परेको तामाङले बताइन् ।

मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् । वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ ।