मन्त्रिपरिषदको निर्णय, आमनिर्वाचन मंसिर ४ गते तय

  • प्रकाशित मिति : August 4, 2022
  • कान्तिपुर सञ्चार

१९ श्रावण काठमाडौँ —सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्यको र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिना अघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।