मन्त्रिपरिषद्को बैठक आज बस्दै, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गर्ने तयारी

  • प्रकाशित मिति : August 4, 2022
  • कान्तिपुर सञ्चार

१९ श्रावण, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ। सत्तारुढ गठबन्धन दलको बुधबार बालुवाटारमा बसेको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोक्ने विषयमा सहमति गरेका थिए । बैठकमा संसद्को कार्यकालबारे पनि छलफल भएको थियो।

निर्वाचनको मिति निर्वाचन आयोगले सिफारिस गरेको मिति हो। प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्तासाझेदार दलसँगै विज्ञहरूसँग छलफल गरेरै मिति घोषणा हुन लागेको हो।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले सरकारले मंसिर ४ मै निर्वाचनको मिति तोक्ने कुरा पनि आश्चर्यजनक नभएको बताए। उनले भने, ‘सरकारले कानुनी परामर्श गर्दा हामीले सबै हिसाबले २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेका थियौं। सरकारले मंसिर ४ मा गरौं भन्ने प्रस्ताव गरेपछि हामीले त्यसमा पनि सहमति भएको हो।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ। कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्ने सूचना अधिकारीको भनाइ छ। २०७४ सालमा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो।