माओवादी केन्द्रीय समितिमा आज प्रचण्डले पदाधिकारीका नाम प्रस्ताव गर्ने सम्भावना

  • प्रकाशित मिति : July 7, 2022
  • कान्तिपुर सञ्चार

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।

मंगलबार र बुधबार स्थगित बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।

प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्। उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गरेका थिए।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।