राप्रपाले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन चर्काउने

  • प्रकाशित मिति : July 24, 2022
  • कान्तिपुर सञ्चार

साउन ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई राप्रपाले निरन्तर संचालन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा साउन ५ देखि ७ गते पार्टीको केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको छ । वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नु पर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको छ । विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताका आधारमा अभिभावकीय संस्थाको रुपमा राजा रहने संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, तीन तहको संघीयता होइन प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा राप्रपा प्रतिबद्ध रहेको उल्लेख छ । र, यी मुद्दालाई राप्रपाले आफ्नो कार्यनीति बनाउने छ ।

‘विदेशी भूमिमा, विदेशीको आग्रहमा भएको बाह्र बुँदे सहमतिको त्रुटीपूर्ण मार्गचित्रका साथै राजसंस्था, संसदवादी शक्ति र माओवादी त्रिपक्षीय द्वन्द्वका सरोकारवालाहरु मध्ये राजसंस्थालाई बहिष्करणलाई गरेर आरम्भ भएको त्रुटीपूर्ण शान्ति प्रक्रियाले देशमा कुशासन र भ्रष्टाचार मात्र दिएको छ । सत्ताको नेतृत्व गर्दै आएका ठूला राजनीतिक दलहरु शक्ति पृथकीकरण, प्रजातान्त्रिक नियन्त्रण र सन्तुलनका आधार धुमिल पार्न अग्रसर छन् । आफूलाई विधिभन्दा माथि राख्ने प्रवृत्तिका प्रवर्तक बनेका छन् । राष्ट्रपति, सभामुख जस्ता पदसमेत दलीय पक्षधरताबाट मुक्त छैनन् । महाभियोगको स्वेच्छाचारी प्रयोग र दुरुपयोग गर्ने क्रमले संविधान र प्रणाली घरीघरी ध्वस्त पार्ने काम भएको छ । विधिको चरम अवमूल्यनबाट मूलतः प्रजातन्त्र नै धरापमा परेको छ भन्ने राप्रपाको निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा मागसमेत गरेको छ । त्यस्तै अत्याधिक महंगीका कारण आम जनसाधारण प्रताडित भएको, जनताको दैनिकी र अर्थ व्यवस्थामा नकारात्मक असर परेको हुनाले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, दैनिक सेवा सुविधा र उपभोग्य बस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न, बजारको प्रभावकारी अनुगमन गर्न र अति गरिव एवं असहायहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

‘सरकारले महंगी नियन्त्रण गर्न नसकेको, किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको, करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाउने जस्तो घोर अनैतिक कार्यमा संलग्न भएको, भ्रष्टाचार बढेको जस्ता कारणले यो गठबन्धनको सरकार राज्य सञ्चालनमा पूर्णतः असफल भएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट गठबन्धनको सरकार र बारम्बार सरकार सञ्चालनमा असफल भएका ठूला दललाई विस्थापन गर्दै विद्यमान दुष्चक्रबाट मुलुकलाई उन्मुक्ति दिने उत्तम अवसर नेपाली जनता सामु आएको छ । यस अवसरमा सम्पूर्ण नेपाली जनतालाई आफ्नो मताधिकारको बुद्धिमत्तापूर्ण उपयोग गर्न राप्रपा आह्वान गर्दछ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।