राष्ट्रिय कबड्डी : आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

  • प्रकाशित मिति : April 18, 2022
  • कान्तिपुर सञ्चार

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो। सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो।

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन्। दुबै टोली बीचको खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ।

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो।

तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो।

सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन्। नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६–२९ ले किनारा लगायो।

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन्। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ।

यसअघि आज नै प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए।