प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकाली स्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।
प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गरेका हुन् । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ रासस भवनमा ५४ कोठा छन् । चार तले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकआपसमा गाभिएर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समितिको स्थापना भएको हो ।