र्‍यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरको १५ लाख बजेट

  • प्रकाशित मिति : July 9, 2022
  • कान्तिपुर सञ्चार

असार २५, काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउने भएका छन्।

पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए।

शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन्।

हामीले यसबारे बालेनको सचिवालयका प्रवक्ता भूपदेव शाहलाई सोध्दा उनले ‘र्‍यापर यमबुद्धको योगदानको कदर गर्दै शालिक निर्माण गर्न लागेको’ पुष्टि गरे।

उनका अनुसार यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले बजेट नै छुट्याइसकेको छ।

‘यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका छौं,’ उनले भने, ‘दसदेखि पन्ध्र लाख रूपैयाँसम्ममा शालिक बनाउने कार्यक्रम छ।’

शालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन नभएको उनले बताए।

‘सडकमा जथाभाबी राख्ने छैनौं। जुन ठाउँमा अर्थपूर्ण हुन्छ, त्यहीँ राख्छौं। हिपहिप संगीतसँग जोडिएको स्थानमा राख्ने हाम्रो योजना छ,’ उनले भने।

यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेको भूपदेवको भनाइ छ। लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो।

‘उहाँले नेपालको र्‍याप विधालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन ठूलो भूमिका खेल्नुभएको छ,’ उनले भने, ‘उहाँका कारण धेरै म्युजिसियन जन्मिएका छन्। म्युजिकमै लागेर केही गर्न सकिन्छ भनेर आशा जागेको छ। यमबुद्धलाई नै पछ्याएर म्युजिकमा करिअर बनाउनेहरूको संख्या बढेको छ। त्यही योगदानको कदर गर्न शालिक बनाउन लागेका हौं।’

बालेन आफैं हिपहप संगीतमा लागेकाले पनि यमबुद्धको योगदानको कदर गर्न खोजेको उनले उल्लेख गरे।

‘मेयर स्वयं यही विधाको हुनुहुन्छ। यमबुद्धले नेपाली संगीतमा पुर्‍याएको योगदान उहाँले जति अरूले बुझ्दैनन्,’ भूपदेवले भने, ‘मेयरजी त त्यही पुस्तामा हुर्केबढेको मानिस हुनुहुन्छ। उहाँले र्‍याप विधा बुझ्नुभएको छ र यसको महत्व अनुभूति गर्नुभएको छ।’

र्‍याप विधाले नै बालेन्द्रलाई ‘बालेन’ को नाम दिलाएको भूपदेवले बताए।

बालेन शाहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन्। काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।

वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ।

शाह स्वयंले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए।