विद्यार्थीबिनाको विद्यालयमा पाँच जना शिक्षक, तीन वर्षदेखि अध्यापन बिना नै तलब

  • प्रकाशित मिति : April 13, 2022
  • कान्तिपुर सञ्चार

अभिभावक वीरेन्द्र यादव भने उक्त विद्यालयमा पढाइ नै नहुने भएकाले आफूहरुले छोराछोरीलाई अन्यत्र पढ्न पठाउनु परेको जिकिर गर्दछन् । ‘मास्टरहरु पढाउनु हुन्न, एक त विद्यालय नै आउनु हुन्न, आएपनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उनले भने, ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरुले आज पढाई हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिनु हुन्थ्यो ।’

कहिलेकाहीँ त एक जनामात्र शिक्षक विद्यालयमा आउने र ऊ पनि हाजिर गरेर फर्कने गरेकोसमेत अनुभव रहेको उनले सुनाए । ‘विद्यार्थी दिनभर विद्यालयमै हुन्थे,’ उनले भने, ‘तर उनीहरुलाई पढाउने एक जना शिक्षक पनि हुँदैनथे, हाजिर गर्दै हिँड्ने गर्दथे । यस्तो अवस्थामा हामीले कसरी त्यस्तो विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्न पठाउने’

शिक्षकले लापरवाहीकै कारण विद्यार्थीहरु विस्तारै सो विद्यालय छाडेर अन्यत्र बढ्न जान थालेको उनले सुनाए । यसरी एकजना–दुईजना गरी विद्यार्थीहरुले विद्यालय छाड्दै गएपछि तीन वर्ष यता सो विद्यालय विद्यार्थीविहीन भएको उनले बताए ।

अर्का अभिभावक जुक्ति यादव भन्छन्, ‘मास्टरहरु आज सुध्रिनु होला, भोलि सुध्रिनु होला भनेर हामीले प्रतिक्षा ग¥यौं तर दिनदिनै अवस्था झन् बिग्रिँदै गएपछि बाध्य भएर विद्यार्थीलाई अर्को स्कूलमा पठाएका हौँ ।’

सबै अभिभावकको आर्थिक अवस्था आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन सक्ने खालको हुँदैन । उनीहरु जसोतसो नजिककै सरकारी स्कूलमा आफ्ना छोराछोरीलाई पढाउन चाहन्छन् । तर शिक्षकले नै पढाउन छाडेपछि सो विद्यालयमा कोही पनि पढ्न जान नमानेको जुक्ति यादवको भनाइ छ ।