विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

  • प्रकाशित मिति : August 1, 2022
  • कान्तिपुर सञ्चार

साउन १६, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो भने देशभरि यस्ता हिंस्रक घटना घटाएको सो समूह विरुद्ध देशैभरि उजुरी छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसका कारण अदालतले समय समयमा नै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरू विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ ।