शिक्षामा सबैको न्यायोचित पहुँच आवश्यक: राष्ट्रपति भण्डारी

  • प्रकाशित मिति : August 16, 2022
  • कान्तिपुर सञ्चार

साउन ३१, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा सबैको न्यायोचित पहुँच आवश्यक रहेको बताएकी छन्।

‘समृद्ध नेपालको आधारशिला शिक्षा हो, मुलुकको सर्वांगीण विकासका लागि सबै नागरिकले शिक्षामा समतामूलक न्यायोचित पहुँच स्थापित गर्नु आजको आवश्यकता हो,’ उनले भनिन्।

पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यावासिनी माविको हिरक जयन्ती एवं ७५ औं वार्षिकोत्सव समारोह समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले २१ औं शताब्दी अनुकूल शिक्षा हुनुपर्ने बताइन्।

नेपालको गौरवपूर्ण इतिहासबाट शिक्षा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘नेपालको चिनारी ज्ञानभूमि र शान्तिभूमि हो,’ उनले भनिन्, ‘एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना गर्न इतिहासबाट शिक्षा लिएर अघि बढ्नुपर्छ।’

विद्यालयले प्रदान गर्ने शिक्षाले राष्ट्रियताको दायित्व वहन गर्नुपर्ने उनको भनाइ छ।

शिक्षाले सामाजिक चेतना प्रदान गर्नुपर्ने भन्दै उनले विन्ध्यावासिनी माविलाई नमूना विद्यालय बनाउन आग्रह गरिन्।

शिक्षा मन्त्रालयका अनुसार विन्ध्यावासिनी मावि नेपालका उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ।

सार्वजनिक शिक्षामा राज्यबाट भइरहेको लगानीमा अपेक्षा अनुसार प्रगति हुन नसकेको आम गुनासो रहेको राष्ट्रपति भण्डारीले बताइन्।

गुणस्तर सुधार्न अभिभावक, स्थानीय सरकार, शिक्षक र विद्यार्थीको सामूहिक प्रयास आवश्यक पर्ने उनले जोड दिइन्।

‘मुलुकको विकासका पूर्वाधारको पनि पूर्वाधार शिक्षा हो,’ उनले भनिन्, ‘अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी चनाखो भएर गुणस्तर सुधार्न लाग्नुपर्छ।’