श्रीलंकामा आज राष्ट्रपति छानिँदै, तीन जना मैदानमा संसदलेनै मतदान गरेर पहिलो पटक छान्दैछ राष्ट्रपति

  • प्रकाशित मिति : July 20, 2022
  • कान्तिपुर सञ्चार

साउन ४, काठमाडौँ । आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ।

न्युजवायरका अनुसार श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।

यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन। यसपालि भने नयाँ राष्ट्रपति बन्न तीन जना मैदानमा छन्।

अहिलेका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले मंगलबार उम्मेदवारी दिएका छन्। श्रीलंकाको संसद २२५ सदस्यीय छ। त्यसमध्ये सबैभन्दा धेरै राजापाक्षेहरूले नेतृत्व गरेको श्रीलंका पोदुजन पेरामुनाका १०० सांसद छन्।

६ पटक प्रधानमन्त्री भइसकेका र अहिले कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन रहेको बताइन्छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए।

श्रीलंका पोदुजन पेरामुनाका सबै सांसदले मत दिए विक्रमासिंघेको जित सहज देखिन्छ तर उक्त पार्टीका सबै सांसदले उनलाई मत नदिन सक्ने सम्भावना छ। श्रीलंकाको अहिलेको आर्थिक संकट ल्याउन राजापाक्षे परिवारको ठूलो भूमिका रहेकाले फेरि उनीहरूले नै समर्थन गरेको मानिसलाई राष्ट्रपति बनाउन हुँदैन भन्ने सोच श्रीलंकामा छ।

प्रदर्शनकारीहरूले पनि विक्रमासिंघेलाई राष्ट्रपति भएको हेर्न चाहेका छैनन्। अर्का उम्मेदवार दलास अलाहप्पेरूमा अहिले स्वतन्त्र सांसद हुन् तर उनको राजनीतिक पृष्ठभूमि राजापाक्षे परिवारसँग जोडिएको छ। उनी पहिला श्रीलंका पोदुजन पेरामुनाका सदस्य थिए। तमिल विद्रोहलाई दबाउन बेला उनी राजापाक्षेहरूसँगै थिए।

अहिले उनलाई विपक्षी दलहरूको समर्थन रहेकाले विक्रमासिंघेलाई कडा चुनौती दिने देखिएको छ। अर्का उम्मेदवार अनुरा कुमारा दिस्सानायके जनता विमुक्थी पेरामुनेका नेता हुन्। यो श्रीलंकाको वामपन्थी पार्टी हो। राष्ट्रपति चुनिनका लागि सदर मतको ५० प्रतिशत बढी मत ल्याउनु पर्नेछ। मतपरिणाम आजै आउने सम्भावना छ।