श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा प्रवेश गरेपछि कहाँ गए राजापाक्षे?

  • प्रकाशित मिति : July 10, 2022
  • कान्तिपुर सञ्चार

असार २६, काठमाडौँ । श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्।

शनिबार राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेका थिए। त्यसअघि नै उनी त्यहाँबाट भागेको थिए।

तर उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन।

टाइम्स अफ इन्डियाले स्रोतलाई उदृत गर्दै लेखेको समाचारका अनुसार उनी शुक्रबार नै त्यहाँबाट निस्किसकेका थिए। केही समाचारहरूमा भने कोलोम्बो पोर्टस्थित ‘नेभी सिप’ मा राष्ट्रपतिका लगेजहरू हत्तारमा राखिएको उल्लेख गरिएको थियो। उनी त्यसैमा चढेर गएको हुनुपर्ने आशंका पनि गरिएको छ।

राष्ट्रपति भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन्। उनले बोलाएको सर्वदलीय बैठकपछि ट्विट गर्दै राजीनामा दिने बताएका हुन्।

उनले भनेका छन्,‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु। त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु।’

शनिबार भएको प्रदर्शनमा कम्तीमा पनि ३० जना प्रदर्शनकारी, २ जना प्रहरी घाइते भएका छन्।

प्रदर्शनकारीहरूले श्रीलंकाको झन्डा, हेल्मेट बोकेर त्यहाँ प्रवेश गरेको भिडिओहरू पनि बाहिरिएका छन्।

प्रहरीले हवाई फायर पनि गरेको थियो। तर आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेको थिएन।

‘ब्यारिकेडहरू हटाएर हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति भवनको प्रमुख गेटमा पुगिसकेका छन्। प्रहरी पनि त्यस क्षेत्रबाट पछि हटिरहेको देखिन्छ,’ एक प्रत्यक्षदर्शीले रोयटर्ससँग भनेका थिए, ‘हवाई फायर गरेको र निरन्तर रूपमा अश्रु ग्यास प्रहार गरिएका छन्।’

राष्ट्रपति भवन प्रवेश गरेर प्रदर्शनकारीहरू पुलमा स्वीमिङ गरिरहेको तस्बिर पनि बाहिर आएका छन्। भवन भित्र गरेका विभिन्न क्रियाकलापहरूको भिडिओ खिचेर उनीहरूले सामाजिक सञ्जालमा हालिरहेका छन्।

प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।

आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।