श्रीलकांमा प्रदर्शन उग्र बन्दै, प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

  • प्रकाशित मिति : July 10, 2022
  • कान्तिपुर सञ्चार

असार २६, काठमाडौँ । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन्।

शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। यसै क्रममा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ अधिकारीले घरबाहिर उपस्थित पत्रकारमाथि हमला गरेपछि भीड झनै आक्रोशित भयो। त्यसपछि भीडले प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेको थियो।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार राष्ट्रपति निवास घेरेका थिए।

दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन्। उनले बोलाएको सर्वदलीय बैठकपछि ट्विट गर्दै राजीनामा दिने बताएका हुन्।

उनले भनेका छन्,‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु। त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु।’

प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।

आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।