सरकारले भित्रभित्रै एसपिपीमा सम्झौता गर्ने कुरा सुन्दैछुः भीम रावल

  • प्रकाशित मिति : July 8, 2022
  • कान्तिपुर सञ्चार

नेकपा एमालेका सांसद भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रावलले सरकारले भित्रभित्रै एसपिपीमा सम्झौता गर्ने काम अघि बढाइरहेको बताएका हुन्।

उनले कुनै न कुनै किसिमबाट सरकारले एसपिपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए।

‘एसपिपी यो हिन्द प्रशान्त रणनीतिको अंग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन। यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयं मन्त्रीहरू, पार्टीका नेताहरूले भनिरहेका छन्’ उनले भने, ‘तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, प्रधानमन्त्रीको तर्फबाट सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यतिका दिनसम्म के कारणले नेपाल अमेरिकी राज्य साझेदारी कार्यक्रमको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनु भएको? यो विषय अत्यन्त गम्भीर छ।’

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गरेका छन्।

उनले कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताए।

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७९,