सहिद स्मारक ए डिभिजन लिग फुटबलःजावलाखेल युथ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा

  • प्रकाशित मिति : April 4, 2023
  • कान्तिपुर सञ्चार

काठमाडौ,चैत २१ -‍ सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे । यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए । खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो । पराजित सातदोबाटो ६ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा झरेको छ । त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलको २० औँ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे । त्यस्तै खेलको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७१ औँ मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अङ्क जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।