सेनाले हतियार किन्दै

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको हो ।

 

२०७८ चैत २४ मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार चैत २७ मा सेनाले ५ सय इन्सास राइफल र ९० नाल लाइट सपोर्ट वेपन सशस्त्र प्रहरी बललाई दिएको छ । चैत २४ मा बसेको मन्त्रिपरिषद्ले सेनासँग रहेको ९ हजार इन्सास राइफल र १६ सय नाल लाईट सपोर्ट वेपन (एल.एस. डब्लु) हतियार सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बाँकी हतियार अर्को चरणमा हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले पुराना हतियार सशस्त्र र प्रहरीलाई दिएर आफूले नयाँ हतियार किन्ने रणनीति लिएको छ । २०७८ असार २१ मा तत्कालिन प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर १० हजार थान हतियार प्रहरीलाई दिने सहमति गरेका थिए । प्रहरीलाई इन्सास, एसएमजी र एलएमजी हस्तान्तरण गर्न दुई संगठनको बिचमा सहमति भएको छ ।

प्रहरीका लागि कम घातक हतियार र भीड नियन्त्रण गर्ने उपकरण आवश्यक छ । तर, सेनाले अफ्नो लागि हतियार किन्नका प्रहरीलाई पुराना हतियार भिडाएको उच्च सुरक्षा अधिकृतहरूले टिप्पणी गरेका छन् । लडाइँमा प्रयोग हुने इन्सास अहिले प्रहरीका लागि आवश्यक नभएको जानकारहरु बताउँछन् ।

सेनाले आफूसँग भएको इन्साससहित करिब २० हजार पुराना हतियार प्रहरी र सशस्त्रलाई हस्तान्तरण गरेर नयाँ किन्न लागेको छ । सैनिक नेतृत्वले मन्त्रिपरिषद्बाट पास गराएर पुराना हतियार लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई बाध्य पार्दै आएको छ ।

२०२० मा  थ्रिनटथ्री हतियार प्रहरीलाई दिएर सेनाले नयाँ हतियार किनेको थियो । २०२७ मा सेनाले एसएलआर किनेर थ्रिनटथ्री प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

पुराना हतियार अन्य सुरक्षा संगठनलाई दिँदा सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने उच्च सैनिक अधिकृतहरूले दाबी गर्ने गरेका छन् । चैत २७ मा सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हतियार हस्तान्तरण गर्दै उपरथी अशोकराज सिग्देल क्षेत्रीले टिप्पणी गरेका थिए, ‘यसबाट दुई निकायबीचको सम्बन्ध सुमधुर हुन्छ र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्छ ।’