स्कटल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

  • प्रकाशित मिति : July 8, 2022
  • कान्तिपुर सञ्चार

नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानडामा तयारी सकेसँगै आज स्कटल्यान्ड जाँदैछ। नेपाल क्रिकेट संघका अनुसार नेपाली टिम क्यानडाबाट आज साँझ स्कटल्यान्डका लागि प्रस्थान गर्न लागेको हो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नेपाली टिम क्यानडा गएको थियो।

क्यानडाको स्थानीय टिमसँग दुई टी-२० खेलेको नेपालले दुवै खेलमा विजयी भएको थियो। यस्तै क्यानडाको राष्ट्रिय टिमसँग पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द हुँदा दोस्रो खेलमा नेपाल पराजित भएको थियो।

स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ।

अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ।

७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ।

नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।

नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार बेहोरेको छ भने १ खेल बराबरी खेलेको छ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी।

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७९,