३ दिनसम्म लगातार घटेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि

  • प्रकाशित मिति : June 1, 2023
  • कान्तिपुर सञ्चार

१८ जेठ, काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से बिहीबार भने उतारचढावबीच दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकको बिन्दुमा बन्द भएको छ ।

बजेटको अघिल्लो दिन १७.३५ अंकले घटेको नेप्से १५ जेठमा बजेट वक्व्य सार्वजनिक भएपछि १६ जेठ र १७ जेठमा क्रमशः ५३.१६ अंक र ३८.८२ अंकको गिरावट आएको थियो । बजेटपछिको ३ दिनको कारोबारमा १०९.३३ अंकले गिरावट आएको थियो । त्यसअगाडि कारोबार भएको लगातार ७ दिनसम्म नेप्से कुल १४० अंकले बढेको थियो ।

बिहीबार भने सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, बिहीबार भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाखमा झरेको छ । २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ ।

यता सनराइज फोकस इक्वीटी फण्डको इकाइ मूल्य ६ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत र माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको छ ।