४५ वटा रूसी ड्रोन खसालेको युक्रेनको दाबी

  • प्रकाशित मिति : January 2, 2023
  • कान्तिपुर सञ्चार

युक्रेनले नयाँ वर्षको अवसरमा ४५ वटा रूसी ड्रोन खसालेको दावी गरेको छ । मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो । युक्रेनको वायु सेनाले विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ ।

सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनी अधिकारीहरूले केही ड्रोनहरू उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन् । कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महीनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो । शृङ्खलाबद्ध सैन्य पराजयपछि रूसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो, जसले गर्दा लाखौं मानिस चिसो र अँध्यारोमा परेका छन् ।