सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी असन्तुष्ट

  • प्रकाशित मिति : April 13, 2022
  • कान्तिपुर सञ्चार

सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर गरिएको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि देखिएको छ । सो पार्टीको सुदूरपश्चिम प्रदेशका नेता तथा प्रदेशसभा सदस्यहरू आफ्नै पार्टीको केन्द्रीय नेतृत्व तथा केन्द्रमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिप्रति असन्तुष्ट देखिएका हुन् ।

स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा गठबन्धन घटकमा देखिएको यो असन्तुष्टिले चुनावी तालमेल प्रभावित पर्ने त होइन भन्ने आशंकासमेत उब्जाएको छ । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका नेताहरू आफूसँग सल्लाह नै नगरी केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर तथा सत्ता साझेदारीमा पछिल्लो सहमति भएको भन्दै असन्तुष्ट देखिएका हुन् ।

यसअघि प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीका चार मन्त्री र तीन राज्यमन्त्री थिए । तर, काँग्रेसलाई सरकारमा सहभागी गराइएपछि भने सो पार्टीबाट प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री छन् । सोडारी बाहेक नेकपा एकीकृत समाजवादीका सबै मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाइएपछि सो पार्टीबाट नयाँ अनुहारका रूपमा एक मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट समेत मन्त्री हेरफेर गर्ने सन्दर्भमा पुराना मन्त्रीलाई राजीनामा गर्न लगाइएपछि असन्तुष्टि छताछुल्ल भएको हो । राजीनामा दिने क्रममा मन्त्रीहरूले असन्तुष्टि पोखेका थिए । नेकपा एकीकृत समाजवादी पार्टीकी सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले पार्टीमा देखिएको असन्तुष्टिलाई छलफलका माध्यमबाट निराकरण गर्दै अघि बढ्ने बताइन् ।

यद्यपि, मन्त्रीमण्डल हेरफेर भएको तेस्रो दिन नेकपा एकीकृत समाजवादीका निवर्तमान आर्थिक मामिला मन्त्री तारा लामा तामाङले सामाजिक सञ्जालमा कटाक्ष गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’

मन्त्रीमण्डल हेरफेरमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का तथा आर्थिक मामिला मन्त्री तामाङलाई फिर्ता बोलाइएको थियो । तामाङले आफूहरूलाई मन्त्रीबाट फिर्ता बोलाउँदै गर्दा पार्टीले आफूहरूसँग कुनै किसिमको छलफल समेत नगरेको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् हेरफेरबारे हामीसँग पार्टी नेतृत्वले कुनै छलफल गरेन । गठबन्धनले पनि छलफल गरेको थाहा भएन । पार्टीले पनि हामीलाई सोधेको छैन ।’

 

नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले प्रदेशस्तरमा छलफल नगरी एक्कासि मन्त्री हेरफेर गरिएको गुनासो गरिन् । ‘काँग्रेसलाई स्थानीय तहको निर्वाचनपछि मात्रै सरकारमा ल्याउने विषयमा छलफल भइरहेको थियो,’ विकले कान्तिपर सञ्चारसँग भनिन्, ‘तर एकाएक काँग्रेसलाई सरकारमा ल्याइयो र हाम्रा केही मन्त्रीलाई फिर्ता बोलाइयो, यसले हाम्रो पार्टीमा केही असन्तुष्टि बढाएको छ ।’

केन्द्रमै काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बीचमा सहमति भएपछि शुक्रबार सुदूरपश्चिम सरकारमा २ मन्त्री र १ राज्यमन्त्रीसहित काँग्रेसलाई सहभागी गराइएको हो । प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराउन नेपाल एकीकृत समाजवादी पार्टीले आफ्ना प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बाहेकका सबै मन्त्री ३ मन्त्री र ३ राज्यमन्त्री लाई राजीनामा गर्न लगाएको थियो ।