काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र प्रबन्धनिर्देशकले मिलेर सर्वसाधारणको जग्गा किर्ते गरी ठगी धन्दा चलाएको पाइएको छ । अध्यक्ष र प्रबन्धनिर्देशक दुवै श्रीमान् र श्रीमती हुन् ।
अध्यक्ष खड्ग देवकोटा र प्रबन्धनिर्देशक तथा देवकोटाकी पत्नी सविना देवकोटाको मिलेमतोमा ठमेलमै व्यवसाय गर्दै आएकी स्वस्थानी केसीको जग्गा ठगी भएको थियो । यस विषयमा आर्थिक दैनिकले समाचार प्रकाशन गरेपछि अध्यक्ष देवकोटा र उनकी पत्नीले धम्की समेत दिएका थिए । तर, सरकारी निकायको आँखा छलेर सहकारीको आवरणमा ठगी धन्दा चलाउने देवकोटा दम्पतीमाथि कुनै निकायले छानबिन गरेको छैन ।
स्थायी घर दोलखा भीमेश्वर नगरपालिका – ७ भएकी केसीको करोडौँको जग्गा सहकारीका अध्यक्ष देवकोटा र उनकी श्रीमती तथा प्रबन्धनिर्देशक सविना वाग्ले मिलेर ठगी गरेका थिए ।
काठमाडौंको ठमेलमा इन्स्पायर्ड ट्राइभ आयुर्वेद रेष्ट्रो एण्ड बार सञ्चालन गरी बस्ने स्वस्थानीले व्यावसायिक प्रयोजनका लागि सहकारीबाट ऋण लिने प्रक्रिया थालेकी थिइन् । तर जग्गा दृष्टिबन्धक राख्ने प्रक्रियाको लागि चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा पुगेकै दिन उनको जग्गा जालसाजी गरी सहकारीका अध्यक्ष देवकोटाको पत्नी सविनाले आफ्नो नाममा पास गरेकी थिइन् । उनले अदालतमा दायर गरेको मुद्दामा भने आफूले उक्त जग्गा ३० लाख रुपैयाँमा किनेको दाबी गरेकी छिन् ।
स्वस्थानीको नाममा रहेको खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित कित्ता नम्बर २३४४ मा करिब तीन सय नौ वर्गमिटर जग्गा सविनाले ठगी गरेकी हुन् । स्वस्थानीले इन्द्रचोकस्थित अनुसा सुनचाँदी पसलका मालिक कृष्ण रामदामसँग आफ्नो १८ तोला सुन धितो राखेर छ लाख २५ हजार ऋण लिएकी थिइन् । यही ऋणले उनलाई देवकोटा दम्पतीको पञ्जामा पु-याएको हो ।
‘३८ वर्षको उमेरमा ५०/६० लाख पैसा र १८ तोला सुन कमाएछु । इन्द्रचोकस्थित अनुसा सुनचाँदी पसलका मालिक कृष्ण रामदाम, श्रीमती शोभा रामदाम, सरोज रामदाम भन्ने भाइ थिए । सोही सुन पसलमा म पनि सुन बनाउन जान्थेँ’, स्वस्थानीले आर्थिक दैनिकसँग भनिन्, ‘मसँग भएको १८ तोला सुन राखेर सोही सुन पसलबाट छ लाख ७५ हजार रुपैयाँ लिएको थिएँ । ब्याज मासिक एक लाखको २ हजार रुपैयाँ तिर्नु भनेको थियो । मैले ब्याज बुझाउँदै आएको थिएँ ।’
तर, उनले ब्याज बुझाउँदै आएको केही समयमा नै सुन पसले रामदामले तुरुन्तै सम्पूर्ण ऋण चुक्ता गर्न दबाब दिएका थिए । दबाब थेग्न नसकेपछि नै उनले सहकारीबाट ऋणको प्रक्रिया थालेकी थिइन् ।
आधारभूत सहकारीमा आफन्तकै रजाइँ : सहकारीका अध्यक्ष हुन् खड्ग देवकोटा । उनी माओवादीनिकट कार्यकर्ता हुन् । माओवादीका तर्फबाट हाल शिक्षामन्त्री बनेका देवेन्द्र पौड्याल र खिमलाल देवकोटाको संरक्षणमा उनीहरुले यसरी ठगीधन्दा चलाउँदै आएको आरोप छ ।
२०७४ असार २५ गते स्थापना भएको यो सहकारीको अध्यक्षमा देवकोटा र प्रबन्धनिर्देशकमा पत्नी सविना छिन् । सविनाकै नाता पर्ने सुनिल वाग्ले लेखा प्रमुख छन् । हाल कुल सेयर सदस्य संख्या २४ सय ३४ जना रहेको यो सहकारीमा सर्वसाधारणको रकम असुरक्षित रहेको आरोप छ ।