हेलो सरकारको प्रभावः प्रधानमन्त्रीको निर्देशनपछि २४ घण्टाभित्रै सम्बोधन

  • प्रकाशित मिति : September 4, 2023
  • कान्तिपुर सञ्चार

काठमाडौँ। आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा ३ सिफ्ट सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं. ४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठुलो ढुङ्गोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षासचिव किरणराज पौडेललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिए । ‘पौडेलका अनुसार बस्तीमाथि रहेको ढुङ्गो विस्फोट गरी हटाउने कार्य सुरु गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ’ पौडेलले भने, ‘‘प्रधानमन्त्रीको निर्देशन लगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरु गरिसकेको छ। ढुङ्गो निकै ठुलो छ, एकैपटक विस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुङ्गो हटाउने कार्य भइरहेको छ।’

आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठुलो ढुङ्गो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी विस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाएका थिए ।