एकीकृत समाजवादीमा तीन दिनभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने

  • प्रकाशित मिति : April 10, 2022
  • कान्तिपुर सञ्चार

नेकपा एकीकृत समाजवादीले वडा कमिटीबाट उम्मेदवारको सिफारिस गर्न तीन दिनको समय दिएको छ।

वैशाखमा हुने स्थानीय चुनावका लागि आकांक्षीमध्येको नाम चैत ३० गतेभित्र वडा कमिटीले पार्टीको माथिल्लो कमिटीमा सिफारिस पठाइसक्न पार्टीले निर्देशन दिएको हो।

वडा कमिटीले यही चैत ३० भित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ। पालिका कमिटीले आगामी वैशाख २ भित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने तालिका छ।

यस्तै प्रदेश कमिटीले वैशाख ४ भित्र निर्णय र सिफारिस गर्नुपर्नेछ भने प्रदेश कमिटीले वैशाख ६ भित्र निर्णय र सिफारिस गर्नुपर्ने तालिका पार्टीले बनाएको छ।

उम्मेदवार सिफारिस केन्द्रीय कमिटीले वैशाख ८ भित्र गरिसक्ने गरी तालिका बनाइएको हो।

एकीकृत समाजवादीसहित पाँचदलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने भएका छन्। कुन ठाउँमा कुन पार्टीको उम्मेदवार हुने भन्ने टुंगो नलाग्दै दलहरूले उम्मेदवार सिफारिस पठाउन भनेका छन्।

समाजवादीले महानगर र उपमहानगरको टिकट भने केन्द्रबाटै दिने र गाउँ र नगरका प्रमुख तथा उपप्रमुखलाई भने प्रदेशबाट टिकट दिने व्यवस्था मिलाएको छ।