कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपालले नेकपा एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएसँगै अब भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल केन्द्रीत भएको नेताहरुले बताएका छन् । एमालेसँगको वार्ताका क्रममा राप्रपा नेपालले कम्तिमा ३० स्थानीय तहमा दाबी गरेको छ । देशभरका स्थानीय तहमध्ये विभिन्न जिल्लाका स्थानीय तहमा पार्टीको जनाधार रहेको दाबीसहित राप्रपाले ३० स्थानीय तहमा आफ्नो दाबी गरेको हो । यद्यपि दुबैपक्षबीच केन्द्र तथा जिल्लाका साथै स्थानीयस्तरमा समेत छलफल र मत विश्लेषणका आधारमा उम्मेदवार उठाउने समझदारी भएको छ ।
राप्रपा नेपालका महामन्त्री तथा स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील श्रेष्ठले बुधबार तालमेलबारे ५ बुँदे सहमति भएसँगै एमालेको सूर्य चिह्नबाटै चुनाव लड्न निश्चित भएको बताए । राप्रपा नेपालको चुनाव चिह्न तीर भएपनि सहमतिअनुसार अब राप्रपाले जहाँ–जहाँ उम्मेदवार उठाउँछ त्यहाँ सबै सूर्य चुनावबाटै उम्मेदवार बन्नेछन् । तर, चुनाव जितेपछि उनीहरु राप्रपा नेपालकै हैसियतमा रहने गरी सहमति भएको छ ।
एमालेकै चुनाव चिह्नबाट किन लड्दैछ राप्रपा नेपाल रु
श्रेष्ठका अनुसार २०७४ को चुनावमा तालमेल गर्दा फरक फरक चुनाव चिह्न हुँदा धेरै मत बदर भएको र अब त्यस्तो नहोस् भनेर समान चुनाव चिह्नबाट लड्ने समझदारी भएको हो । ‘आफ्नो आफ्नो चुनाव चिह्न लिएर जाँदा एमालेको चिह्न माथि १ नम्बरमा नै छ । तर हाम्रो चिह्नचाहिँ धेरै तल छ’, श्रेष्ठले भने, ‘जस्तो कि ४ वटा वडामा समझदारी गर्दा दुईटा चिह्न माथि र दुई वटा खोज्न तल जानुपर्ने हुँदा मतदाता अलमलमा पर्ने देखियो त्यसमाथि क्लस्टरको सन्तुलन पनि हुन्छ । र, मत पनि बदर हुने देखेर हामीले यस्तो सहमति गरेका हौँ ।’
उनले अगाडि भने, ‘अघिल्लो चुनावमा पनि एमाले र राप्रपाबीच गठबन्धन हुँदा काठमाडौंमा तत्कालीन राप्रपाको लगभग १५ हजार मत बदर भएर राजाराम श्रेष्ठले हारेका थिए ।’ एमाले समर्थक मतदाता अलमलमा रहेर सूर्य चिह्नमा नै मत हालिदिँदा यस्तो अवस्था त्यतिबेला आएको उनको भनाइ छ । जुन चिह्नबाट चुनाव लडेपनि निर्वाचनपछि विजयीहरु आ–आफ्नै पार्टीमा अस्तित्वमा रहने भएकाले यसलाई तालमेलबाहेक अरु बुझ्न नहुने उनको भनाइ छ ।