कात्तिक २९, काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनसन बसेका छन्।
उनले मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्।
उनले सात बुँदे मागसहित अनसन सुरू गरेका छन्।
पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के-कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।
गाउँमा बाँदरले दु:ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्।
त्यस्तै गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्।
उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। ‘मौन अवधिले केही गर्दैन। मौन अवधि सुरू भएपछि सत्याग्रह गर्न हुन्न भनेर कानुन पनि छैन,’ उनले भने, ‘सत्याग्रह गर्न पाउने मेरो नैसर्गिक अधिकार हो। माग पूरा नभएसम्म अनसन जारी रहन्छ।’