ललितपुरमा गठबन्धनभित्र लफडा : सर्वसम्मत हुन नसकेपछि प्रदेश र केन्द्रमा सिफारिस

  • प्रकाशित मिति : April 17, 2022
  • कान्तिपुर सञ्चार

ललितपुर जिल्लाको एक महानगरपालिका सहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि लफडा भएको छ। सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि बाग्मती प्रदेश कमिटी र केन्द्रमा सिफारिस गरिएको हो ।

 

गठबन्धनमा सहभागी जसपा र राष्ट्रिय जनमोर्चाले वडामै चित्त बुझाउने भएपछि खासै विवाद भएन। तर, काँग्रेस,माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै दाबी कायमै राखेपछि प्रदेश र केन्द्रमा सिफारिस गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले बताए। ‘ललितपुरमा एक महानगर,दुई नगरपालिका र तीन गाउँपालिका छन् । त्यहाँ एकले अर्कोलाई छोड्न स्थिति बनेन,’ कान्तिपुरसञ्चारसँग कुरा गर्दै थापाले भने,‘त्यसपछि महानगरपालिका केन्द्र र नगरपालिका र गाउँपालिका प्रदेशले टुङ्गो लगाउने गरी आ–आफ्नो दाबी सहित पठाएका छौँ ।’

ललितपुरका ६ स्थानीय प्रमुखरउपप्रमुखको भागवण्डा मिलाएपछि टुङ्गो लगाएपछि वडाको भागवण्डा लगाउने माओवादी केन्द्रका जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ‘हामीले ललितपुरका ६ स्थानीय तहका प्रमुखरउपप्रमुखको भागवण्डाका विषयमा छलफल गर्‍यौँ । सर्वसम्मत हुन सकेन त्यसपछि केन्द्र र प्रदेशमा सिफारिस गरेका छौँ,’ कट्टेलले भने,‘सबै स्थानीय तहको भागवण्डा मिलेपछि वडालाई सर्वसम्मत गरेर भागवण्डा गर्छौँ । यदि नमिलेमा त्यही ढङ्गले हल गर्ने विधि खोज्नेछौँ ।’ ललितपुरमा गठबन्धनमा सहभागी सबै दलको तानातान भएपछि सर्वसम्मत हुन नसकेको कट्टेलले बताए। जिल्लाले मिलाउन नसकेपछि प्रदेश कमिटीले भागवण्डा गरेर मिलाउने भएको छ।

ललितपुर महानगरपालिका काँग्रेसको दुवै पदमा, उपमेयरमा समाजवादी

यस महानगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै दाबी गरेको छ। यसअघि निर्वाचनमा पनि काँग्रेसले दुवै पदमा जितेकाले यस पटक पनि गठबन्धनबाट दुवै पद दाबी गरेको हो। तर, एकीकृत समाजवादीले उपप्रमुख पाउनु पर्ने दाबी गरेको छ। माओवादीले महानगरका प्रमुख उपप्रमुख दुवै पदमा दाबी नगरेको जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ललितपुरको पाँच दलीय गठबन्धनमा कुरा नमिलेपछि केन्द्रलाई मिलाउने गरी सिफारिस गरिएको छ।

यस अघि निर्वाचनमा काँग्रेसबाट चिरिबाबु महर्जनले २४६४२ उपमेयरमा गीता सत्यालले १९८१९ ल्याएर विजयी भएका थिए। एमालेबाट मेयरमा हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ उपमेयरमा लक्ष्मीकुमारी श्रेष्ठले ३२१ मत ल्याएकी थिइन्। माओवादी केन्द्रबाट दिनेश महर्जनले १०६६१ र उपमेयरमा हसिना शाक्यले १२९७९ मत ल्याएकी थिइन। स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए। शोभा शाक्यले स्वतन्त्र उम्मेदवारी दिएर १४२४० मत ल्याएकी थिइन। राप्रपाबाट उपप्रमुखमा बाबुकाजी प्रधानले १०५४० मत ल्याएका थिए। त्यति बेला एमाले राप्रपाबीच चुनावी तालमेल गरेका थिए। यस निर्वाचनमा पनि एमाले राप्रपाबीच चुनावी तालमेल हुने भएको छ। एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई मेयरमा सिफारिस गरिसकेको छ।