एनआरटीले मलेसिया भ्रमणमा खायो दुई खेलमा १० गोल

  • प्रकाशित मिति : July 3, 2022
  • कान्तिपुर सञ्चार

असार १९, काठमाडौ । प्रि-सिजन टुरका लागि मलेसियामा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले खराब नतिजा सामना गरेको छ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा एनआरटी मलेसियाको सुपर लिग क्लब पेनाङ फुटबल क्लबसँग ५-० गोलले पराजित भयो।

पेनाङमा शनिबार भएको खेलमा एनआरटीले पहिलो हाफमा दुई गोल खादा दोस्रो हाफमा तीन गोल बेहोरेको थियो।

पराजयसँगै पेनाङमा सम्पन्न टिवाइटी कपमा एनआरटी तेस्रो स्थानमै खुम्चियो।

यसअघि पहिलो खेलमा एनआरटीलाई इन्डोनेसियाको कारो एफसीले ५-१ गोलले पराजित गरेको थियो। कारो इन्डोनेसियाको दोस्रो डिभिजनको लिग-२ खेल्ने क्लब हो। ‍

यसअघि पेनाङ र कारोले बराबरी खेलेका थिए। चार अंक जोडेको पेनाङले प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना भएको हो।

अब एनआरटी थाइल्याण्ड जानेछ। एनआरटीले थाइल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

जसमध्ये एक खेल थाई लिग वान क्लव चोनबुरी एफसीसँग खेल्ने छ।