ओलीलाई लक्षित गर्दै माधव नेपालले भने- संसदमा गर्जिएको देख्दा अचम्म लाग्यो!

  • प्रकाशित मिति : January 10, 2023
  • कान्तिपुर सञ्चार

काठमाडौं, पुस २६

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिन लागेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेपालले ओलीलाई कटाक्ष गरेका हुन्।

ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसदमा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

देउवालाई जवाफ दिँदै ओलीले २०१७, २०५१ र २०५८ मा पनि संसद विघटन भएको र संसद विघटनको गुरू देउवा नै बताएका थिए।

संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद विघटनबारे ओली संसदमा गर्जिएको देखेर आफू अचम्ममा परेको बताएका हुन्।

ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको नेपालले बताए।

‘अहिलेको संविधान राणाकालको जस्तो वा २०४८ सालको जस्तो होइन। हामी आफैंले लेखेको संविधानमा संसदले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था छ,’ नेपालले भने,‘सर्वोच्च अदालतले पनि त्यसलाई व्याख्या गरिसकेको छ। हेक्का रहोस् प्रतिनिधि सभा विघटन गर्न पाइँदैन।’

ओलीको भनाइजस्तै अहिलेको गठबन्धनको भनाइ पनि प्रतिनिधि सभा विघटन गर्न सक्छ भन्ने हुनु नहुने नेपालले बताए।