करिव १० हजार मत गणना गर्नु अघि नै हार स्वीकार गरे कमल थापाले

  • प्रकाशित मिति : November 24, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ८

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर–१ मा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तिम मत परिणाम सार्वजनिक हुनु अघि नै आफ्नो पराजय स्वीकार गरेका छन् । सो क्षेत्रमा अझै करिब १० हजार मत गणना बाँकी छ ।

उनले सामाजिक सञ्जालमार्फत पराजयलाई स्वीकार गर्दै लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार ।’ उनले सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।’आ फू देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ,’ उनले लेखेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।’

उनले सनातन धर्म, संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उल्लेख गरेका छन् ।