क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ : प्रचण्ड

  • प्रकाशित मिति : September 2, 2022
  • कान्तिपुर सञ्चार

भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।

सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने  गरी तयारी भइरहेको बताए ।

एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।