पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान थालियो

  • प्रकाशित मिति : September 2, 2022
  • कान्तिपुर सञ्चार

भदौ १७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । ‘पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाई अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सारेको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए ।