पाँचथरमा समानुपातिक मतपेटिकामा प्रत्यक्षको पनि मतपत्र भेटिएपछि..

  • प्रकाशित मिति : November 27, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ११

चथरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आउन ढिलाइ हुने भएको छ।

यहाँ नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ अघि छन्। उनले अहिलेसम्म ३२ हजार एक सय ९० मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले ३२ हजार ६३ मत ल्याएका छन्। बसन्त ४७ मतान्तरले अघि छन्।

यहाँ एमालेका बसन्तले ४७ चुनाव जितेका खबर आएका छन्। तर मुख्य निर्वाचन अधिकृत कार्यालयले भने मतगणना जारी रहेको बताएको छ।

सुरूमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना गरिएको थियो, जसमा ४७ मतले बसन्त अघि थिए। यसैका आधारमा बसन्तले चुनाव जितेका खबर आएका हुन्।

तर प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि यहाँ मतगणना जारी राखिएको छ। मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले समानुपातिकतर्फको मतपेटिकामा पनि प्रत्यक्षतर्फको मतपत्र भेटिएकोले मतगणना जारी राखिएको बताए।

प्रतिनिधि सभा र प्रदेश सभाका जुनसुकै मतपेटिकामा मतपत्र भेटिए पनि गणना गर्नु भनेर निर्वाचन आयोगबाट परिपत्र आएको उनले बताए।

‘प्रत्यक्ष मतपेटिकामा समानुपातिक मतपत्र भेटियो वा समानुपातिकमा प्रत्यक्ष मतपत्र भेटियो भने पनि गणना गर्नू भनेर आयोगले परिपत्र गरेको छ,’ उनले भने, ‘यहाँ समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिने गरेको छ। हामीले गणना गर्दैछौं।’

प्रतिनिधि सभाका प्रत्यक्षतर्फको मत गणना गर्दा पनि समानुपातिकतर्फका मतपत्र भेटिएको उनले बताए। ‘अहिले हामीले समानुपातिकतर्फ मत गणना गरिरहेका छौं, प्रतिनिधि सभाका प्रत्यक्षतर्फका केही मतपत्र भेटिएका छन्,’ उनले भने।

पाँचथरमा मंसिर ४ को चुनावमा ७४ हजार चार सय ९३ मत खसेको थियो। अहिलेसम्म प्रतिनिधि सभामा ३० हजार ९ सय ८८ मत गनिएको छ। प्रदेशतर्फको पनि समानुपातिक मतगणना जारी छ।

‘समानुपातिक मत गणना सक्न मंगलबार बेलुकीसम्म लाग्ने देखिन्छ,’ उनले भने, ‘समानुपातिकका सबै मत गणना गरेपछि मात्रै प्रतिनिधि सभाको प्रत्यक्षतर्फको पनि अन्तिम परिणाम घोषणा गर्छौं।’

समानुपातिक मतपेटिकामा भेटिएका प्रत्यक्षतर्फका मत एउटा भिन्नै बाकसमा राखिएको उनले बताए। समानुपातिक मत गणना गरिसकेपछि प्रत्यक्षतर्फ प्रतिनिधि सभाका मतपत्र पनि गणना गर्ने उनी बताउँछन्।

पाँचथरमा प्रतिनिधि सभातर्फ कांग्रेसबाट उम्मेदवार रहेका भीष्मराज आङ्देम्बेले पनि समानुपातिक मतपेटिकामा भेटिएका प्रत्यक्षतर्फमा मतपत्र गणना गर्ने दलहरूबीच सहमति भएको बताए।

‘समानुपातिक मतपेटिकामा रहेका प्रत्यक्षतर्फका मत पनि गणना गर्ने सर्वपक्षिय सहमति भएको छ,’ उनले भने, ‘समानुपातिकतर्फका सबै मत गणना गरेपछि प्रत्यक्षतर्फको पनि आधिकारिक परिणाम घोषणा हुन्छ। यसका लागि केही दिन लाग्ला।’

समानुपातिक मतपेटिका अहिलेसम्म भेटिएका २१ मतपत्रमध्ये रूख छाप भएका ११ वटा र सूर्य छाप लगाएका ५ वटा र बाँकी ५ मत अन्य उम्मेदवारलाई आएको आङ्दम्बेले बताए। ३० हजार समानुपातिक मत गणना गर्दा २१ वटा प्रत्यक्षतर्फका मतपत्र फेला परेको उनले बताए।