फेसबुकमा बच्चा चोरी हुने अफवाहको आतंक

  • प्रकाशित मिति : September 12, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, भदौ २७

प्रहरी भन्छ- सातै प्रदेशबाट अपडेट मागेका छौं, अनावश्यक हल्ला फैलाउनेलाई कारबाही गर्छौं

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो। उक्त स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो।

सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ। विद्यालयले यसरी सूचना निकाल्नुको कारण पनि उल्लेख गरेको छ।

‘आदरणीय अभिभावकज्यू, हाल भारतबाट बच्चा चोरेर लैजाने एउटा ठूलो समूह नेपालमा भित्रिएको जानकारी हामीहरूलाई आएकाले, यहाँहरूलाई सावधानी अपनाउँदै आफ्ना बालबालिकाहरूलाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिनुहुन जानकारी गरिन्छ,’ सूचनामा भनिएको छ।

यसरी बच्चाहरू चोरी गरी भारत लैजाने गरेको घटना बढेको भन्दै अभिभावकलाई सचेत गराउन सूचना निकालेको विद्यालयका प्रधानाध्यापक सञ्जीव गुरूङले बताए। बच्चा चोरी हुने गरेका कुरा आइरहेको हुँदा धेरै मानिस त्रासमा बसिरहेको उनी बताउँछन्।

‘बच्चा चोरी हुन थालेको घटना सबैलाई थाहा छ। तर मानिसले लुकाइराखेका छन्। मानिसले जति शान देखाए पनि त्रासमा छन्। अभिभावकले स्कुलको गेटमा पटक-पटक आएर बच्चा यताउता होला भनेपछि मैले एउटा सूचना पठाएको हुँ,’ उनले भने, ‘घटना नभए त राम्रै हो। तर भइहाल्यो भने त हामी व्यहोर्न सक्दैनौं नि!’

प्रधानाध्यापक गुरूङले सूचना अभिभावक भएको मेसेन्जर ग्रुपमा पठाएर जानकारी गराएका थिए। यस्तै विद्यालयको फेसबुक पेजमा पनि उक्त सूचना हालिएको छ।

अहिले सामाजिक सञ्जालमा यो सूचना धेरैले शेयर समेत गरिरहेका छन्।

उनले विद्यालयका बच्चा भने चोरी भएका छैनन्। त्यही क्षेत्रको एउटा विद्यालय परिसरमा अज्ञात व्यक्ति घुमेको पाएको उनले बताए।

सूचना निकालेपछि यसले चेतना पनि फैलाउने काम गरेको उनले बताए।

‘प्रशासनले यसबारे किन नभनेको होला? झुटो हो भने त भन्नु पर्‍यो। जनताको चित्त बुझाउन पर्‍यो नि। प्रशासनले नगरेको हुँदा मैले आफ्नो विद्यालयका अभिभावकलाई मात्रै केन्द्रित गरी निकालें,’ उनले भने।

जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरले विद्यालयले त्यस्तो सूचना जारी गरेको आफूलाई जानकारी नभएको बताए।

बाँकेमा बच्चा चोरीका घटना नभएको पनि उनले  जानकारी दिए।

‘उहाँहरूले कोही सुस्त मनस्थितिका मान्छे आए पनि बच्चा चोर्न आए भन्नुहुन्थ्यो, तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ उनले भने, ‘हल्लाचाहिँ छ। यस्तो अफवाह फैलिएपछि हामीले खोज्दा कोही भेटिएको पनि छैन। आयो भनेचाहिँ हामी काम गरौंला।’

बच्चा चोर आएको अफवाहको आतंक बाँकेमा मात्रै सीमित छैन।

केही दिनअघि बुटवलबाट तीन जना बालक हराए। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए।

बुटवलबाट हराएका तीन बालक भारतको केरलामा भेटिए।

यो पनि बच्चा चोरीकै घटनासँग सम्बन्धित  हो त?

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले उनीहरूलाई कसैले चोरी नगरेको बताए।

ती बालक नेपाल आइपुगिनसकेको उनले बताए। उनीहरू नेपाल फर्किएपछि कसरी त्यहाँ पुगे भन्ने अनुसन्धान गरिने उनको भनाइ छ।

‘उनीहरू कसरी त्यहाँ गए भन्ने बुझ्न बाँकी छ। कसैले लगेको देखिन्न। तर अहिले बच्चा चोरी भएको भन्ने अफवाह फैलिरहेको छ,’ उनले भने, ‘उनीहरू १४-१५ वर्षका हुन्। उनीहरू तीन जना मध्येका एक जना अभिभावक भएकै ठाउँमा पुगेका हुन्। अर्को व्यक्तिको संलग्नता भएको देखिन्न।’

बच्चा चोरी हुने अफवाहको आतंक यति छ कि गत शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट नै गरेको छ।

दिउँसो ४ बजे लहानस्थित लक्ष्मीपुरमा दुई जना पारलैंगिक महिलामाथि कुटपिट भएको थियो। मुन्नी किन्नर र चन्दा किन्नर बस चढ्न लाग्दै थिए। एक्कासी दुई-चार जना पुरूष आएर यिनीहरूले बच्चा चोरेको भन्दै आरोप लगाएर निर्घात कुटपिट गरेका हुन्।

उनीहरूमाथि थप व्यक्तिले पनि निर्घात कुटपिट गरेको निल हिरा समाजले जनाएको छ। प्रहरीलाई बुझाएपछि प्रहरीले पनि कुटपिट गरेको समाजको दाबी छ।

कुटपिटबाट पीडित पारलैंगिक महिलाहरूको शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ।

‘हामी बच्चा चोर होइनौं भन्दाभन्दै पनि आम मानिस र प्रहरीबाट नै यस्ता मानव अधिकार हनन र हिंसा हुने गरेका छन्,’ समाजले विज्ञप्ति जारी गर्दै भनेको छ।