भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

  • प्रकाशित मिति : November 4, 2022
  • कान्तिपुर सञ्चार

कात्तिक १८, काठमाडौं । भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्ट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

बागमती ए ए ए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटना हुँदा उक्त सवारीसाधनमा सवार चार जना घाइते भएका थिए।

घाइतेको उपचारको लागि उनीहरूलाई विभिन्न अस्पताल लगिएको थियो।

मोटरसाइकल पछाडि सवार धादिङ गजुरी गाउँपालिका-७ घर भई काठमाडौंको नयाँ बजार बस्ने १७ वर्षीया आयुषा सुवेदीको मृत्यु भएको हो। उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए।

झापा कमल गाउँपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने १८ वर्षीय करण दाहाल सामान्य घाइते भएका थिए। उनलाई उपचारपछि डिस्चार्ज भएर प्रहरी वृत्त ठिमीमा राखिएको छ।

स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका-२ मगरगाउँ बस्ने ३५ वर्षीया पुष्पा थापामगर र उनका ७ वर्षीय छोरा समर्जन थापामगरको बिएन्डबी अस्पातलमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा छ।

प्रहरी वृत्त ठिमी भक्तपुरबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।