भरतपुरमा साइक्लिङ म्याराथन हुने

  • प्रकाशित मिति : April 1, 2022
  • कान्तिपुर सञ्चार

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ ।

प्रतियोगितामा पुरुषरमहिलामा एलिट, मास्टर्स र चितवनवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सबैको दूरी ६० देखि ६५ किलोमिटर हुने छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ७३ हजार ३ सय ३५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता व्यवस्थापन गरेर बचेको रकम क्यान्सर पीडित तथा अशक्त, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्तकुमार दरै, प्रतिष्ठानका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।