भीमेश्वरको बजेट ९० करोड ७० हजार

  • प्रकाशित मिति : June 24, 2022
  • कान्तिपुर सञ्चार

चरिकोट, १० असार

भीमेश्वर नगरपालिका दोलखाको आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले यस आर्थिक वर्षको बजेट कार्यान्वयनबाट समृद्ध भीमेश्वर, पौरखी भीमेश्वरबासीको नारा फलीभूत बनाउने लक्ष्य लिदै बजेट प्रस्तुत गर्नु भएको हो ।

उपमेयर बस्नेतले आर्थिक वर्ष २०७९/८० को लागि ९० करोड ७० हजार रुपैयाँ विनियोजन गरिएको बताउनु भयो । यस बजेटबाट प्राथमिकीरणको रुपमा कृषि, पशु विकास, सिंचाई, पर्यटन, उद्योग, वाणिज्य र रोजगारी, सहकारी र वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई आदिलाई प्राथामिकता दिईएको छ ।

यसै गरी बजेटले भाषा संस्कृति तथा ललितकला संरक्षण र प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, ज्येष्ठ नागरिक, बालबालिका, सडक तथा पुल, भवन तथा सहरी विकास, उर्जा तथा जलविद्युत क्षेत्रलाई समावेस गरिएको छ भने सूचना तथा सञ्चार प्रविधि, वन, वातावरण तथा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन, संगठन तथा संस्थागत क्षमता विकास र सुशासन, नागरिक सन्तुष्टि सर्वेक्षण तथा सामाजिक उत्तरदायित्व लगायतका छन् ।

त्यस्तै न्यायमा पहुँच र सामाजिक न्याय, आयोजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, राजश्व परिचालन, वित्तीय व्ववस्थापन, नियन्त्रण, अनुगमन र लेखापरीक्षण, तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन जस्ता कार्यक्रमहरु बजेटमा समावेस भएका छन् ।

प्रस्तुत बजेट तथा कार्यक्रममाथि यही असार २५ गतेसम्म दफावार छलफल हुने छ । कार्यक्रम भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरको सभाध्यक्षतामा भएको थियो ।