यी ८ उम्मेदवार जो कम मतले हारे

  • प्रकाशित मिति : November 27, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ११

मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म १५५ प्रतिनिधि सभा क्षेत्रको परिणाम आइसकेको छ। दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू भएको छैन भने ६ क्षेत्रमा मतगणना जारी छ। पाँचथरमा समानुपातिक मत राखेको पेटिकामा प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि त्यो पनि गणना गर्ने सहमति भएकोले आयोगले अन्तिम परिणाम आउन बाँकी रहेको बताएको छ।

मतपरिणाम आएका १५५ क्षेत्रमध्ये केही क्षेत्रमा झिनो मतान्तरले उम्मेदवारको जित र हार भएको छ। ८ क्षेत्रमा झिनो मतान्तरले जित-हार भएका छन्।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई हराए। डम्बरले २९ हजार ९ सय ६ मत ल्याए भने सुवासले ३० हजार २० मत ल्याए। सुवासले ११४ मतान्तरले चुनाव जिते।

ताप्लेजुङमा एउटा मात्र प्रतिनिधि सभा क्षेत्र छ। यहाँ नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई निर्वाचित भए। योगेशले २१ हजार ९ सय ४३ मत ल्याए भने माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७ सय ३५ मत मात्रै ल्याए। योगेशले २०८ मतान्तरले चुनाव जिते।

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले चुनाव जिते। उनले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराए। प्रकाशमानले ७ हजार एक सय ४३ मत ल्याए भने रवीन्द्रले ७ हजार १८ मत ल्याए। १२५ मतान्तरले प्रकाशमानले चुनाव जिते।

धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले जिते। उनले एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई हराए। रामकृष्णले २० हजार एक सय १२ मत ल्याए भने अरगरियाले १९ हजार ९ सय ५५ मतमात्रै ल्याए। रामकृष्णले १५७ मतान्तरले चुनाव जिते।

पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताले जिते। उनले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलाई हराए। राजकुमारले २४ हजार ३ सय १९ मत ल्याउँदा सुरेन्द्रप्रसादले २४ हजार एक सय ५२ मत ल्याए। १६७ मतान्तरले राजकुमारले चुनाव जिते।

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेल पराजित भए। यहाँ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भइन्। शंकरले २६ हजार ६ सय ८७ मत ल्याउँदा रेखाले २६ हजार ८ सय ८० मत ल्याएकी छन्। रेखाले १९३ मतान्तरले चुनाव जितिन्।

बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले जिते। उनले २६ हजार ५ सय २० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार ३ सय ८४ मत ल्याए। १३६ मतान्तरले लालवीरले चुनाव जिते।

दैलेख क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाह निर्वाचित भए। उनले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराए। शाहले २० हजार एक सय ५८ मत ल्याउँदा पोखरेलले २० हजार पाँच म ल्याए। यहाँ शाह १५३ मतान्तरले चुनाव जिते।