युट्युबमा टिप्पणी गर्दै अभियन्ता बनेका ज्ञानेन्द्र शाही चुनाव जितेर संसदमा

  • प्रकाशित मिति : November 24, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ८

०७६ भदौ २८ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट जहाजमा काठमाडौं फर्कँदै थिए।

उनी नेपालगन्ज विमानस्थल पुग्न ढिला भयो। तालुकवाला मन्त्री आउने भएपछि जहाजले पनि उडान होल्ड गरेर मन्त्रीलाई कुर्‍यो।

जसै पर्यटनमन्त्री भट्टराई जहाज चढे, एक युवाले उनलाई जहाज कुराएको भन्दै र्‍याखर्‍याख्ती पारे।

यति मात्र होइन, आफूले मन्त्रीलाई हप्काएको भिडिओ ती युवाले साथीलाई खिच्न लगाए र युट्युबमा अपलोड गरे। त्यो भिडिओ निकै चर्चित भयो।

त्यस दिन मन्त्रीलाई हप्काउने र युट्युब भिडिओ अपलोड गर्ने युवा थिए, ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही।

उनै ज्ञानेन्द्र शाहीले यसपटक प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट जित हात पारेका छन्।

नेपालगन्जको घटनाअघि पनि उनी विभिन्न विषयमा टिप्पणी गर्दै युट्युबमा भिडिओ हाल्थे। ती युट्युब भिडिओहरूमा उनी आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियान्ताका रूपमा चिनाउँथे।

२०७६ सालमै रवि लामिछानेलाई आत्महत्या दुरूत्साहनको मुद्दा लागेर चितवनको न्यायिक हिरासतमा राखिएका बेला शाहीले बाहिर सभा गरेका थिए। यसले पनि उनलाई युट्युबका दर्शकमाझ परिचित बनाएको थियो। बहालवाला मन्त्रीलाई नै हप्काएपछि भने उनी एकाएक राष्ट्रिय चर्चामा आए।

नेपालगन्जको त्यो घटनापछि शाही केही समय पक्राउ पनि परे।

कोरोना महामारीका कारण लकडाउन भएका बेला शाहीले आर्थिक संकलन गरेर विभिन्न ठाउँमा राहत बाँड्ने काम गरेका थिए। उनले ‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने अभियान पनि चलाए। अभियन्ताका रूपमा उनी मन्त्रालयको कोठा-कोठामा पुगेर मन्त्रीहरूलाई विभिन्न प्रश्न मात्र सोध्थेनन्, जनताको हितमा कसरी काम गर्ने भन्दै ‘पाठ पढाउन’ सम्म भ्याउँथे।

उनी मन्त्रालय जाँदा युट्युबरको भीड आफूसँगै लग्थे। यसरी शाहीले विभिन्न मन्त्रालयका मन्त्रीसँग भेटेका भिडिओ युट्युबमा अझै छन्।

विभिन्न मन्त्रालय चहार्ने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग उनको नोकझोक पनि चल्यो। ज्ञापनपत्र बुझाउन भन्दै मन्त्रालय पुगेका शाहीले मन्त्री त्रिपाठीलाई दुई-चारवटा प्रश्न गर्नुछ भन्दै प्रश्न सोध्न खोजे। ‘म नेपालको नागरिक हुँ’ भन्दै प्रश्न गर्न थालेका शाहीलाई त्रिपाठीले ‘तपाईं निहुँ खोज्न आएको हो’ भन्दै हप्काएका थिए।

‘के गर्ने हो भन्नुस् तर कसरी गर्ने भनेर नसिकाउनुहोस्। तपाईंले चाहेको समाधान हो कि प्रचार हो?’ युट्युबरहरूसहित गएका शाहीले औंला उठाएर बोल्न थालेपछि हृदयेश कड्किए, ‘यो धन्दा मसँग नगर्नुहोस्।’

यसरी मन्त्रीहरूसँग सवालजवाफ गर्दै युट्युबमा भिडिओ राखेर आफूलाई ब्रान्डिङ गरेका शाहीले २०७८ सालमा आफ्नो अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसाएको घोषणा गरे। शाहीलाई राप्रपाले प्रवक्ताको जिम्मेवारी दियो।

राप्रपा प्रवेश गरेसँगै शाहीले जुम्लाबाट टिकट पक्का गरे।

निर्वाचन प्रचार क्रममा उनले आफूलाई जुम्लाको नेताका रूपमा उभ्याए। जुम्लाबाट काठमाडौं गएर मन्त्रालय मन्त्रालय पुग्न सक्ने, खुलामञ्चमा भाषण गर्न सक्ने नेता आफू मात्र भएको दाबी उनले मतादातासँग गरे।

उनले आफ्नो लडाइँलाई ‘जुम्ला र काठमाडौंका टाउकेबीचको लडाइँ’ का रूपमा अर्थ्याएका थिए।

निर्वाचनमा प्रचार गर्दा पनि उनले युट्युबदेखि सामाजिक सञ्जालको व्यापक प्रयोग गरे। उनका हरेकजसो ठाउँका भाषण विभिन्न च्यानलका युट्युबमा अपलोड गरिएका छन्।

यसरी युट्युबबाट अभियन्ता हुँदै नेतामा परिणत भएका शाही पाँच वर्षका लागि सांसद चुनिएका छन्। २०४८ सालमा जुम्लाको सिंजामा जन्मिएका शाही ३१ वर्षका छन्। निर्वाचन आयोगलाई उपलब्ध गराएको तथ्यांकमा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेको उल्लेख गरेका छन्, तर विषय खुलाएका छैनन्।

शाहीले जुम्लामा माओवादी केन्द्रकी गोमा गौतमलाई पराजित गरेका हुन्। शाहीले २२ हजार ८ सय १९ मत ल्याएर जित हात पार्दा गौतमले ११ हजार ९ सय ५९ मत मात्र प्राप्त गरेकी छन्।