लडाकु विमान मर्मत गर्न पाकिस्तानलाई सहयोग गर्ने अमेरिकी निर्णयमा भारतको आपत्ति

  • प्रकाशित मिति : September 11, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, भदौ २६

लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ।

लडाकु विमान एफ-१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई  ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले आपत्ति जनाएको हो।

दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुसँग यस निर्णयको सारबारे छलफल गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतले लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग द्वीपक्षीय छलफल गर्दा अमेरिकी सरकारले उक्त सहयोग स्वीकृति गरेको हो। लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग भारतले सेप्टेम्बर ७ मा छलफल गरेको थियो।

सन् २०१८ मा डोनाल्ड ट्रम्प प्रशासनले पाकिस्तानका लडाकु विमान मर्मतका लागि दिन लागेको सहयोगलाई खारेज गरेको थियो। बाइडेन प्रशासनले विमान मर्मतका लागि सहयोग स्वीकृत गरेपछि भारतले असन्तुष्टि जनाएको हो।

अमेरिकाले उक्त सहयोग पाकिस्तानको सैन्य क्षमता विस्तार वा नयाँ हतियारका निम्ति नरहेको बताएको छ। आफ्नो मुलुकको सुरक्षा संवेदनशिलताको ख्याल नराखी अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको भन्दै भारत रूष्ट बनेको हो।