सात वर्षपछि फेरि बाबुरामलाई ‘झेल्न’ किन तयार भए प्रचण्ड?

  • प्रकाशित मिति : August 16, 2022
  • कान्तिपुर सञ्चार

साउन ३१, काठमाडौ । केही दिनअघि नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंसिर ४ मा हुने चुनाव लड्न आज नेकपा (माओवादी केन्द्र) सँग सहमति गर्दैछन्। दिउँसो २ बजे सार्वजनिक हुने भनिएको उक्त सहमतिअनुसार बाबुराम अब माओवादीको चिन्ह गोलाकारभित्रको हसियाँ हतौडामा संसदीय चुनाव लड्ने छन्।

यो सहमति कार्यान्वयन हुँदा नेकपा (माओवादी) को सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाका बेला बहुचर्चित प्रचण्ड-बाबुरामको जोडी फेरि एक ठाउँमा आइपुग्नेछ।

संविधान सभाबाट संविधान जारी भएपछि बाबुरामले प्रचण्डसँगको जोडी आफैंले तोडेका थिए। २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेपछि भट्टराईले चुहिएको घरमा नफर्किने बरू नयाँ घर बनाउने बताएका थिए।

प्रचण्डबारे उनले भनेका थिए- प्रचण्ड भ्रष्ट हुनुभयो। उहाँसँग वैचारिक मतभिन्नता भएकाले एक्लै अघि बढ्ने  निधो गरें।

आफूबाट छुटेर गएका बाबुरामबारे प्रचण्डले पनि तीखो टिप्पणी गरे- बाबुरामजी जस्तो अप्ठ्यारो मान्छेलाई मैले २५ वर्ष झेलेको छु। उहाँ विशिष्ट बुद्धिजीवी र जटिल हुनुहुन्छ। मैलेजस्तै नजिकसँग अरू कसैले लगेर एक वर्ष झेलेर देखाइदिए हुन्थ्यो!

सात वर्षपछि तिनै प्रचण्ड अप्ठ्यारा भनिएका बाबुरामलाई झेल्न तयार भएका छन्। उनीहरूको सम्बन्धबारे जानकार रहेकाहरूले प्रचण्ड-बाबुरामको सम्बन्ध दोस्रो इनिङ्समा प्रवेश गरेको भनेका छन्। चुनावी सहकार्यसँगै यो बाबुरामको घरफिर्ति पनि हो। केही समयपछि उनी माओवादीमै समावेश हुने माओवादी नेताहरूको दाबी छ।

प्रचण्ड र बाबुराम दुबैले एक-अर्काको आवश्यकता महशुस गरेर नै अहिले सहकार्यको हात अघि बढाएको माओवादी केन्द्रका नेताहरू बताउँछन्।

प्रचण्ड र बाबुरामबीचको सहकार्यबारे माओवादी नेता हरिबोल गजुरेल भन्छन्, ‘प्रचण्ड र बाबुरामलाई एकअर्काको आवश्यकता महशुस भएर नै सहकार्य अघि बढेको छ। पार्टीभित्रको वैचारिक विचलन रोक्दै नयाँ बहस सिर्जनाका निम्ति प्रचण्डलाई बाबुरामको खाँचो पर्‍यो। यति धरै पार्टीमा पुगेपछि अन्तत: प्रचण्ड नै ठीक रहेछन् भन्ने अनुभूति बाबुरामलाई भयो।’

माओवादी केन्द्रका अर्का नेता राम कार्की पार्टीको पुर्नजागरणका निम्ति दुई जनाबीच समझदारी भएर सहकार्य अघि बढेको बताउँछन्। पार्टीलाई नयाँ ढंगले अघि बढाउन फेरि योगदान गर्ने प्रचण्ड-बाबुरामको साझा चाहनाका कारण दुबैले व्यक्तिगत आक्रोश त्यागेको उनको भनाइ छ।

‘भावनात्मक सम्बन्ध बलियो रहेकाबीच प्रेम र घृणा पनि उत्तिकै हुन्छ। अहिले व्यक्तिगत रिसराग भुलेर पार्टीलाई नयाँ कोर्सबाट अघि बढाउन आवश्यकता रहेको महशुस गरेरै उहाँहरू अघि बढ्नुभएको हो,’ कार्कीले भने।

आफ्नो राजनीतिक जीवनकालमा तीन वटा पार्टी निर्माणमा समय खर्चेका भट्टराई त्यसमा सफल नभएपछि चौथो दल दर्ता गरेका छन्। विकल्प शक्ति बनाउने अभियान असफल भएपछि भट्टराईले फेरि पुरानै मित्रसँग सहकार्यको हात अघि बढाएको वाम विश्लेषक हरि रोक्का बताउँछन्।

‘पार्टी निर्माणमा विद्वताले मात्रै सम्भव छैन विचारधारा आवश्यक छ। विचारधारालाई व्यवस्थित बनाउने संगठन चाहिन्छ। संगठनले कार्यक्रम निर्माण गर्छ र त्यसलाई कार्यान्वयन गर्ने टिम चाहिन्छ,’ रोकाले भने, ‘नयाँ विकल्प निर्माण गर्न हिँडेका बाबुरामबाट यो कुरा सम्भव भएन अर्काले बनाएको घरमा जानुभयो। त्यहाँ सन्तुष्ट नभएपछि तुलनात्मक रूपमा पुरानै घर ठीक रहेछ भन्ने लागेको हुनसक्छ।’

व्यक्तिगत तहमा जति आलोचना गरे पनि प्रचण्ड-बाबुराम एकअर्काको प्रशंसा समेत गर्छन्। प्रचण्डले भन्ने गरेका छन्, ‘हामीले जति एकअर्कालाई कमैले बुझेको छ। पार्टी निर्माणमा उहाँको भूमिका र गुण मैले जति अरूले सायदै बुझेका होलान्। हामी विचलनका प्रवक्ता होइनौं। प्रचण्ड- बाबुराम एकअर्काका पुरक हुन् राजनीतिक घटनाक्रमले एकै ठाउँमा आउन बाध्य बनाउने छ।’

बाबुरामले पनि आफूहरूबीच वैचारिकबाहेक व्यक्तिगत बेमेल नरहेको बताउने गरेका छन्।

‘हामीबीच वैचारिक बेमेल मात्रै हो। प्रचण्डजी र मबीच कुनै व्यक्तिगत दुश्मनी छैन। नयाँ आधारमा नयाँ बाटो निर्माणका निम्ति हामी खुला नै रहनुपर्छ,’ भट्टराईले निकटहरूसँग भन्ने गरेका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बाबुराम वाम गठबन्धनबाट सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारीमा थिए। अन्तिममा उनको प्रयास असफल भएपछि कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। यसपटक हँसिया हतौडामा चुनाव लडेर आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न बाबुरामले सहकार्य अघि बढाएको टिप्पणीसमेत हुने गरेको छ।

उनीसँगै सर्लाही-२ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पनि माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन्।

एउटै चिन्हमा चुनाव लड्नुको उद्देश्यबारे राय भन्छन्,‘बाबुरामजीको क्षेत्र मात्रै होइन म पनि निर्वाचित सांसद हुँ। हामीले पनि देउवाजीलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन भोट हालेका छौं। गठबन्धनका घटक हामी पनि भएकाले पहिले जित्नेहरूलाई अहिले गठबन्धनले जिताउने सहमति अनुसार अघि बढेका हौं।’

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दुई वा त्यसभन्दा बढी राजनीतिक दल एउटै चुनाव चिन्हमा लड्न सक्छन्। त्यही प्रावधानअनुसार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै चिन्हमा लड्ने भएका हुन्। यसको गन्तव्य पार्टी एकता रहेको माओवादी केन्द्रका नेता गजुरेलको भनाइ छ। बाबुराम संसदीय निर्वाचन क्षेत्र सुनिश्चित गर्नमात्रै नआएको गजुरेलको जिकिर छ।

‘बाबुरामजी एकै चुनाव चिन्हमा लडेर संसदमा भाग खोज्न मात्रै आउनुभएको होइन। माओवादी पंक्तिलाई एकतावद्ध गर्ने अभियानमा दुई जनाबीच सहमति भएपछि सहकार्य सुरू भयो,’ उनले भने।

नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले पनि परिस्थिति अनुसार एकताको निर्णय हुने बताए। ‘अहिले गठबन्धनबाट चुनाव लड्ने र चुनावपछिको परिस्थिति अनुसार एकता प्रक्रिया अघि बढाउने कुरा छ। यो कुरा समाजवादी केन्द्रका रूपमा हुन्छ वा नयाँ स्वरूपमा भन्ने कुरा चुनावपछि नै थाहा हुनेछ,’ उनले भने।

प्रचण्ड र बाबुरामबीच सहकार्य अघि बढेमा पार्टी रूपान्तरण हुने माओवादीका नेताहरूको विश्वास छ।

प्रचण्ड र बाबुराम एक ठाउँमा आउँदा दुबैलाई फाइदा छ।

वैशाख ३० मा भएको स्थानीय चुनावपछि बाबुरामले एक्लै अघि बढ्दा गोरखा-२ मा आफूसहित कार्यकर्ताको पनि भविष्य सुरक्षित देखेनन्। गोरखा-२ मा पर्ने पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामध्ये कुनैमा पनि बाबुरामको पार्टीले प्रमुख/उपप्रमुख जितेनन्। एक्ला-एक्लै लडेका माओवादी र कांग्रेसलाई आफू र एमाले मिलेर पनि हराउन नसकेपछि बाबुरामलाई आधार क्षेत्रमै कमजोर भएको थियो। जबकी बाबुराम चुनावी प्रचारका क्रममा रातको १२ बजेसम्म पनि आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै हिँडेका थिए।

माओवादीको चिन्हमा चुनाव लडे बाबुरामलाई गोरखा-२ मा चुनाव जित्न धेरै मेहनत गरिरहनु पर्दैन। अहिले औपचारिक रूपमा सत्ता गठबन्धनमा नरहेका बाबुरामलाई एक्लै चुनाव लड्न भने निकै कठिन छ। यस्तो बेला माओवादीको चुनाव चिन्हले उनलाई ठूलो राहत हुनेछ।

बाबुराम आफैंसँग हुँदा प्रचण्डलाई पनि फाइदै छ। प्रचण्डले बेला-बेलामा मोहन वैद्यदेखि नेत्रविक्रम चन्द ‘विप्लव’ सम्मका पूर्वमाओवादीहरू एकै ठाउँमा ल्याउन प्रयास गरिरहेको बताउने गरेका छन्। ‘जनयुद्ध’ लडेका आफ्ना समकालीन नेताहरू छिन्नभिन्न भएसँगै क्षयीकरण भएको माओवादी साख उनीहरूलाई फिर्ता गरेर फर्काउने चाहना प्रचण्डको छ। बाबुराम माओवादीको चुनाव चिन्हमा चुनाव लड्ने भएसँगै उनले अरू पूर्वमाओवादीलाई आफूले भनिरहेको कुरा साकार भइरहेको सन्देश दिन पाउँछन्।

बाबुरामको बौद्धिक व्यक्तित्वका कारण पार्टीभित्र केही पर्दा आफूलाई सल्लाह दिने व्यक्तिका रूपमा पनि प्रचण्डले बाबुरामलाई सँगै लैजान खोजेको देखिन्छ।

यतिमात्रै बाबुराम आउँदा माओवादीको समानुपातिकतर्फको मत पनि केही बढ्न सक्छ। २०७४ को चुनावमा बाबुरामको नयाँ शक्ति पार्टीले समानुपातिकतर्फ ८१ हजार बढी मत पाएको थियो।

‘माओवादीभित्र राजनीतिक रूपले सोच्ने र प्रचण्डलाई सिधा सुझाव वा आलोचना गर्ने सम्बन्ध कम छ। प्रचण्ड-बाबुरामबीच सहकार्य अघि बढे अन्य पक्षधरलाई समेत ल्याएर पार्टीलाई नयाँ जीवन दिन सकिन्छ,’ माओवादी नेता कार्की भन्छन्।

पार्टीको आन्तरिक समिकरणलाई मिलाउन पनि प्रचण्डले बाबुरामलाई भित्र्याउन चाहेको देखिन्छ। प्रचण्डनिकट स्रोतका अनुसार बाबुरामको प्रवेशसँगै गोरखाकै अर्का नेता नारायणकाजी श्रेष्ठलाई सन्तुलनमा राख्न पनि प्रचण्डलाई सजिलो हुनेछ।