सिसिटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरे: प्रदीप ज्ञवाली

  • प्रकाशित मिति : July 4, 2022
  • कान्तिपुर सञ्चार

प्रमुख प्रतिपक्षी दलका उपमहासचिव प्रदिप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले सिसिटिभी फुटेज डिलिट गरेर ठूलै आर्थिक चलखेल गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री शर्माले चलखेल गरेको आरोप लगाए।

बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसिटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उनले बताए।

‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो। यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो,’ उनले भने, ‘यो ढंगको अपराधमा संलग्नहरू अविलम्ब उनीहरूमाथि छानबिन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’

फुटेज डिलिट गर्नु अर्थ मन्त्रालयले त्यसमा गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिर उनले गरे।1

‘यो फुटेज डिलिट भएको भन्ने तथ्यहरू बाहिर ल्याएर वास्तवमा यसमा गम्भिर घोटाला भएको छ भन्ने, गम्भिर अनियमितता भएको छ भन्ने तथ्य चाहिँ स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ,’ उनले भने, ‘यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भिर विषयहरू उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धी उठेका अन्यौलहरूलाई क्लिएर गर्नेतिर लाग्दथ्यो।’

उनले त्यसैमा थपे, ‘त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ। जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ।’