साउन ४, काठमाडौँ ।
कविता लेखकः सुन्दर प्रकाश चौलागाई
सीमा पीडा !
पोहोर साल यहीँ थियौ
स्वदेशमै मेरो समीपमै
र पो बाँड्थ्यौ
सुखदुःख,माया प्रीति
भुल्दथेँ सारा दुखाइ
आमा बाको माया, माइतीको आँगनी,
साथी, सङ्गी, सबै थोक ।
तर यो साल बिरानो मुलुकमा,
म देखि दुर
उता तिमी म यता
आधा आधा
एक्ला एक्लै !
रोपाइँ छ
रोपार र वाउसेहरुको जमात छ
तर म एक्लो ………
र खोज्छु , सुर्का, कान्ला र गराहरुमा
उभिएको, जिस्किएको, मुस्कुराएको
झस्किन्छु , सम्झन्छु हिजो अनि
दुख्छु धेरै वेर
बेहोशिमै यात्रा गर्छन
यी निर्देश नयन ।
तिमी रिसाउँदा आफुलाई
सुरक्षित ठान्थेँ
मुस्कुराउँदा दुःख पिडा खस्दथे सुर्काहरुमा ,
गराहरुमा
अनि पुरिन्थे सवै माटो मुनि ।
तिमी नै थियौ मेरो धरा, मेरो सरा
र लुकाउथेँ आफुलाई तिमीमा
सोच्दथेँ भाग्यमानी, भरिपुर्ण …….. !
कति पल्टाऊँ तिम्रा ती
धित नमर्ने तस्वीरहरु
मायाका अक्षरहरु
उपहारहरु, रङ्गहरु
लाग्छ सबै वेकामी, निरस र रङ्गहीन
क्षण क्षणमा भाँच्छु आँैला
हेर्छु तिमी फर्केर आउने गौँडा
युग लाग्छ……
त्यो अधरको हाँसो देख्ने दिन
आफुलाई तिमीमा फालेर
तौल विहीन हुदै गगन चुम्ने दिन
अत्यास लाग्छ आँखा भरिन्छ…..।
मेरै खुसि किन्न जान्छु भन्यौ
ललायौ, फकायौ, लोभ्यायौ
थाहा पाएको भए मेरो
सवथोक तिमी नै हौ …….
म पनि रिसाउँथेँ, घुक्र्याउँथेँ
र कोर्दथेँ तिमीलाइ लक्ष्मण रेखा
अपहत्या लाग्छ भनेर ! !